इटहरी : इटहरी वडा न. १ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि उद्घोषण तथा माइन्यूट लेखनसम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ ।
विद्यालयको वार्षिक कार्यक्रमअनुसार शुक्रवार आयोजित सो तालिममा कक्षा ७ देखि १० सम्मका ३५ जना विद्यार्थीहरू सहभागी थिए ।
तालिममा विद्यार्थीहरूसँगै विद्यालयका विभिन्न विषयका छ जना शिक्षक–शिक्षिका संयोजकको रूपमा सहभागी थिए । उद्घाटनदेखि समापनसम्म सक्रिय रूपमा सहभागी विद्यार्थीलाई व्यवहारिक सीप सिकाउने उद्देश्यले तालिम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
समापन समारोह विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भयो । उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा रहेको लुकेको प्रतिभा उजागर गर्न यस्ता तालिमले ठुलो भूमिका खेल्ने बताए । बस्नेतले भने,“विद्यार्थीहरूलाई सम्पूर्ण क्षेत्रमा अब्बल बनाउन विविध तालिमको आयोजना गरिन्छ, उद्घोषण कला र माइन्यूट लेखन त्यसैअनुरूपको प्रयास हो ।”
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदी र यमुना बस्नेत, शिक्षक रोवनराज कार्की र सुशीला काफ्लेले पनि सम्बोधन गरेका थिए । वक्ताहरूले सिकेका सीपहरू व्यवहारमा उतार्न विद्यार्थीहरूलाई प्रेरित गरे ।
तालिममा पत्रकार अमर खड्का, स्मारिका राई र विद्यालयको अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक युवराज काफ्लेले सहजीकरण गरेका थिए । सहभागी विद्यार्थीहरूले तालिमलाई निकै उपयोगी अनुभवका रूपमा लिएका थिए ।
विद्यालय प्रशासनले आगामी दिनमा पनि यस्ता व्यवहारिक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया