इटहरी : इटहरी–१ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा आयोजित तीन दिने शैक्षिक प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप र उद्यमशीलताको झल्को दिएका छन्।
‘शिक्षाको संसारबाट ज्ञानको संसारतर्फ’ भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूले विभिन्न समूह बनाएर व्यावसायिक सोच, नेतृत्व र सृजनशीलतालाई व्यवहारमा उतारे।
विद्यालय परिसर तीन दिनसम्म साँघुरो तर जीवन्त बजारझैँ परिवर्तित भएको थियो। विद्यार्थीहरूले खाद्य परिकारदेखि घरेलु सामग्री, कस्मेटिक, सिलाइ–कटाइका सामग्रीहरू स्टलमार्फत प्रदर्शन मात्र गरेनन्, बेचबिखनसमेत गरे।
व्यावसायिक सोचको झल्को
कञ्चनजङ्घा समूहकी मनीषा अधिकारीको नेतृत्वमा पोल्यान कटुवाल, समीर दाहाल,उज्ज्वल गुरागाईँ,निर्मला अधिकारी र सञ्जु राईले जुस,दही,चकलेट लगायत सामग्री बिक्री गरे। मनीषाकी आमा इन्दिरा अधिकारी पनि छोरीलाई सहयोग गर्न विद्यालयमै पुगेकी थिइन्। उनीहरूको टिमले प्रस्तुति, सजावट र ग्राहकसँगको व्यवहारमा विशेष ध्यान दिएर दर्शकको मन जिते।
माछापुच्छ्रे समूहका जेनिश भण्डारी,समीक्षा थापा,सृजन खनाल,कुशल दाहाल,स्नेहा कार्की र ग्रिस्मा गौतमले विद्यार्थीलाई रुचि लाग्ने परिकार चटपट,आलु,निम्की लगायतका सामग्री बिक्री गरे। उनीहरूले “५० रुपैयाँको सामानमा एक दही निःशुल्क” भन्ने अफर पनि ल्याएका थिए,जसले उनीहरूको व्यापारिक प्रतिस्पर्धा झल्काउँथ्यो।
सगरमाथा समूहका सन्ध्या राई,खुसी घिमिरे,सबिना विशंखे,सोनीका दाहाल,अनुश्का राई र दीपिशा गौतमले सिलाइ–बुनाइ तथा कस्मेटिक सामग्री स्टलमार्फत प्रदर्शन गरे। उनीहरूले आफ्नै बनावटका घरेलु सामग्रीमार्फत स्थानीय सीपको प्रवर्द्धन गरे।
शैक्षिक उद्देश्य र सिर्जनात्मकता जोडिएको प्रदर्शनी
कक्षा १२ की अस्मी राईले सेलरोटी बनाउँदै गर्दा भनिन्,“हाम्रो मौलिक परिकारहरू लोप हुँदै गइरहेका छन्, त्यसलाई पुनः प्रयोगमा ल्याउनु जरुरी छ।” उनीसहित कक्षा १२ का अन्य विद्यार्थीहरूले पनि परम्परागत सीप र प्रविधिमा आधारित सामग्री प्रदर्शन गरेका थिए।
शैक्षिक प्रदर्शनीमार्फत विद्यार्थीलाई कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्य राखिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले जानकारी दिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोविदजंग कार्कीले अब हरेक वर्ष यस्तै प्रदर्शनी आयोजना गर्ने योजना रहेको बताए।
१५ वटा स्टल, तीन इन्स्योर र हेल्भेटास परियोजना अन्तर्गत
प्रदर्शनीमा १५ वटा स्टल राखिएको थियो। तीमध्ये तीन वटा इन्स्योर र हेल्भेटास परियोजनाअन्तर्गत ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’मा छनोट भएका विद्यार्थीहरूका समूहको स्टल थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोबिदजंग कार्कीका अनुसार परियोजनामा सहभागी विद्यार्थीले व्यावसायिक र व्यावहारिक सीपको अभ्यास गरेका थिए।
प्रदर्शनी अवलोकनका लागि विद्यालयका विद्यार्थी,उनीहरूका अभिभावक, स्थानीय बासिन्दा र छिमेकी शैक्षिक संस्थाका विद्यार्थीहरू सहभागी भएका थिए। कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै व्यवहारिक शिक्षा आवश्यक रहेको सन्देश दिएको सहभागीहरूको धारणा थियो।
प्रतिक्रिया