कोशी प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्यो, के भन्छन् विज्ञ ?

महानगरले सुरु गर्यो खोप अभियान

विराटनगर । भारतमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमण नेपालमा पनि विस्तार हुँदै गएको छ । कोशी प्रदेशमा यसबारे विशेष सर्तकता अपनाइएको छ ।

सङ्क्रमणको दर बढ्न थालेपछि बुधवारदेखि मोरङको विराटनगर महानगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप अभियान नै सञ्चालन गर्यो । केही दिन अघि महानगरपालिकाका चार जनामा सङ्क्रमण भएको पुष्टि भएपछि महानगरपालिकाले खोप अभियान नै सञ्चालन गरेको हो ।

महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा.दिलीप यादवले उमेर र स्वास्थ्यका हिसाबले कमजोर समूहमा पर्ने नागरिकहरूलाई सङ्क्रमणबाट जोगाउन खोप अनिवार्य देखिएकाले महानगरपालिकाले खोप अभियान सञ्चालन गरेको जानकारी गराए ।

खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध भएको र स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवको भनाइ छ ।

‘विगतमा पनि सङ्क्रमण आउँदाखेरि कहीँ कहीँ मात्रै आएको थियो तर सङ्क्रमण बढ्न थाल्यो र महामारीको नै रूप लियो अहिले पनि देश र विदेशमा पनि मृत्यु हुनेदेखि सङ्क्रमितको सङ्ख्यासम्म नै बढ्दै गइरहेको हो । हामीले विगतलाई पनि ध्यानमा राखेर अब ढिलाइ गर्नु हुँदैन भनेर तयारी थालेका हौँ,’ उनले भने 

सङ्क्रमण पुष्टि मात्रै नभएर असार महिनामा मात्रै कोशी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाइसकेको तथ्याङ्क सरकारसँगै छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ र इलामका एक÷एक जना महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्रालयले सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै होम आइसोलेसनको व्यवस्था, नियमित परीक्षण, र खोप अभियानलाई पनि निरन्तरता दिन निर्देशन दिएको मन्त्रालयकी प्रवक्ता डा. सभ्यता पन्थी बताउँछिन् । ‘हामीले खोप अभियान समेत सञ्चालन गरेको अवस्था छ । सङ्क्रमणको सङ्ख्या समेत बढ्दै जाँदा जोखिम समेत बढ्दै जाने भएकोले हामीले तयारी अपनाएको हो । तर, अहिलै आत्तिनुपर्ने अवस्था चाहिँ होइन । लक्षित बर्गले खोप समेत लगाउन सक्नुहुन्छ,’ उनले भनिन् ।

पन्थीका अनुसार कोशी प्रदेशमा पछिल्ला दिनमा नै २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म दुई जनाको मृत्यु भइसकेको छ भने ११ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्यको जोखिमलाई ख्याल गर्दै सीमा नाकाहरुमा समेत आवश्यक सतर्कता बनाइएको सरकारी दाबी रहेको छ ।

महामारीका रूपमा विश्वव्यापी फैलिएको सङ्क्रमण पछिल्लो महिना केही देशहरूमा समेत तीव्र रूपमा फैलिरहेको छ । छिमेकी मुलुक भारतमा समेत तीव्र गतिमा बढी रहेको सङ्क्रमण खुल्ला सीमा र आवतजावतले थप नेपालमा फैलन सक्ने खतरा जानकारहरूले औँल्याएका छन् ।

नागरिकले जनस्वास्थ्यका मापदण्ड पुरा गरेर मात्रै दैनिक जीवनयापन गर्नका लागि जनस्वास्थ्यका अभियान्ताहरुले सुझाव समेत दिएका छन् । नेपाल जनस्वास्थ्य सङ्घको केन्द्रीय महासचिव समेत रहेका जनस्वास्थ्यका अभियन्ता कैलाश खाकी श्रेष्ठले बिरामी नभईकन ध्यान दिने अवस्था नरहेको बताउँदै त्यो घातक हुने बताए ।

उनले भने,‘पहिले पनि कोरोना निर्मूल भएको होइन । जीवनयापनको सुधारपनले समेत कोरोनासँग लड्न सक्ने अवस्था रहेछ भन्ने कुरा थाहा भएकै छ । थाहा पाएपछि जीवनस्तर सुधार्ने भन्दा पनि अगाडिबाटै सचेत हुनुपर्दछ । राज्यका तर्फबाट समेत प्रभावकारी कदम चाल्न आवश्यक रहेको छ ।

के खोप अझैं आवस्यक छ ?
जनस्वास्थ्यका जानकारहरुका अनुसार कोरोनाको खोपले भनेको रोगसंग लड्न सक्ने शक्ति बढाउँछ र जोखिम पनि कम हुन्छ । त्यसकारण खोप लगाएर एक वर्ष कटिसकेकाले खोप लगाउन आवश्यक छ । हर्ड इम्युनिटिले नै अहिले हामी सुरक्षित रहेको भन्दै खोल अभियानलाई साथ दिनुपर्ने उनीहरुको मत छ । 

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार