सर्लाही : नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको ४३औँ स्मृति दिवस सर्लाहीमा विभिन्न कार्यक्रमसहित श्रद्धापूर्वक मनाइएको छ।
नेपाली कांग्रेस सर्लाहीको बसबरिया गाउँपालिकाद्वारा पार्टी कार्यालय भवानीपुरमा आयोजना गरिएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले बीपी कोइरालाको राष्ट्रिय राजनीतिमा पु¥याएको योगदानको स्मरण गरे। कार्यक्रम पार्टी सभापति लालबाबु महतोको अध्यक्षतामा सम्पन्न भयो।
मधेश प्रदेश काँग्रेसका उपसभापति एवं सङ्गठन विभाग प्रमुख, पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै प्रजातन्त्र स्थापनाका लागि उनले गरेको कठोर सङ्घर्षको प्रशंसा गरे।
नेता सिंहले भने, “२०३९ साउन ६ गते दिवङ्गत हुनुभएका बीपी कोइरालाले नेपाली प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभयो। उहाँ केवल राजनेता होइन, नेपाली साहित्यमा पनि मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक हुनुहुन्थ्यो।”
साहित्यिक कृतिहरूमा बीपीका तीन घुम्ती, मोदी आइन, हिट्लर र यहुदी, सुम्निमा, नरेन्द्रदाइ, बाबु, आमा र छोरा उपन्यास तथा श्वेत भैरवी र दोषी चस्मा कथा सङ्ग्रह उल्लेखनीय छन्।
उक्त कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, महासमिति सदस्य राम बाबु राय, युवा नेता गजेन्द्र साहलगायत नेताहरूको उपस्थिति रहेको प्रचारप्रसार विभाग, मधेश प्रदेशका सचिव निकेश त्रिपाठीले जानकारी दिए।
प्रतिक्रिया