पोखरा : नेपाली काँग्रेसका नेता महेश आचार्यले गुटको पछि लाग्ने प्रवृत्तिले कांग्रेस कमजोर बनिरहेको बताउनुभएको छ। नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा गण्डकी प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता आचार्यले पछिल्लो समय विचारभन्दा गुटको पछि लाग्ने चलन बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।
नेता आचार्यले गुटप्रति दासत्व झुकावले काँग्रेसलाई गाँजिरहेको भन्दै त्यसबाट माथि उठ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “बिपीका निष्ठा र समर्पणबाट अहिले पनि धेरै सिक्न सकिन्छ,” उहाँले भन्नुभयो, “तर सत्ताको मात्रै खेल हुँदा देशको दुर्गति हुन्छ।” प्रजातन्त्र बलियो नभएसम्म राष्ट्रियता मजबुत हुन नसक्ने उहाँको धारणा थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले अभिव्यक्ति स्वतन्त्रता प्राप्त हुनुमा बिपीको योगदान उल्लेख गर्नुभयो। पूर्वमन्त्री यज्ञबहादुर थापाले बिपीका विचार आदर्शका रूपमा सदैव जीवित रहने बताउनुभयो।
कांग्रेस कास्की सभापति किशोरदत्त बरालले पार्टीभित्र अनुशासनको खाँचो औँल्याउनु भयो भने प्रदेश कार्यवाहक सभापति कल्पना तिवारीले बिपीका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो।
कार्यक्रममा गण्डकी काँग्रेसका प्रवक्ता माधवप्रसाद बास्तोला, सहमहामन्त्री कोपिला रानाभाट, प्रशिक्षण उपप्रमुख प्रा. डा. कुशुमाकर न्यौपाने, पूर्वसभापति कृष्ण केसी, पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छे, क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी र दलित सङ्घ गण्डकी अध्यक्ष परशुराम वि. पोखरेललगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले बिपीको विचार आत्मसात् नगर्दा पार्टी कमजोर भएको धारणा राखे।
प्रतिक्रिया