धनकुटा : यहाँको चौबिसे गाउँपालिकास्थित राजारानी बजारसँगै रहेको जिल्लाकै एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पावरक (राजा) तालको संरक्षण तथा प्रवर्द्धन गरिने भएको छ ।
साबिक राजारानी गाविसको नाम दुई वटा तालको नामबाट राखिएकामा हाल मावरक (रानी) ताल सहकारीमार्फत आंशिक संरक्षण भए पनि राजा ताल सिमसारमै सीमित छ ।
अङ्ग्रेजी अक्षर ‘भी’ आकारमा करिब २२५ रोपनी बढी निजी जमिनमा फैलिएको राजारानी सिमसार क्षेत्रलाई राजा ताल निर्माण गर्न गतवर्ष आयोजित कोशी प्रदेश सरकारको लगानी सम्मेलनमा छनोटमा परेको थियो ।
रु ३५ करोड लगानी प्रस्ताव गरिएको राजा ताल निर्माणका लागि आइतबार चौबिसे गाउँपालिकामा पावरक (राजा) ताल निर्माण समन्वय समिति र पावरक (राजा) ताल निर्माण सहजीकरण समिति बैठक बसेर सोमबारदेखि काम थाल्ने निर्णय भएको जनाइएको छ ।
लगानीकर्ताहरूले करिब रु दुई अर्ब बराबरको लगानी गरेर राजा तालको पर्यटन प्रवर्द्धन गर्ने चासो देखाएपछि काम सुरु गर्न लागिएको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।
दुवै समितिको बैठकपछि आजैदेखि ताल क्षेत्रमा पर्ने जग्गाधनीहरूसँग परामर्श गर्ने कार्यक्रम रहेको अध्यक्ष लिम्बूले जानकारी दिए । “जग्गाधनीहरूसँग प्रारम्भिक सर्वेक्षण डिपिआर तयार पार्ने विषयमा हाम्रो छलफल हुनेछ”, लिम्बूले भने ।
छलफलमा, लगानीकर्ताहरूले जमिन भाडामा दिएर ताल निर्माण गर्न दिने वा उक्त आयोजनामा शेयर लिनेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
हालसम्मको सर्वेक्षणमा राजा तालमा मात्र ८२ जना व्यक्तिको ११३ रोपनी जमिन सिमसारका रूपमा रहेको छ । उक्त स्थानमा राजा र रानी ताल क्षेत्र पूर्णरुपमा निर्माण भएमा सो क्षेत्रको पर्यटन प्रवर्द्धनबाट व्यापक रोजगारी सिर्जना हुनाका साथै पालिकाको समृद्धिमा सहयोग पुग्ने लिम्बूको भनाइ छ ।
निर्माणाधीन भेडेटार–रबी–राँके राजमार्गमा रहेको यो तालसँगै यस चौबिसे गाउँपालिका क्षेत्रमा अन्य यस्तै सानाठूला ताल संरक्षणको पर्खाइमा छन् ।
प्रतिक्रिया