उदयपुर । उदयपुर प्रहरीले अवैधरुपमा भन्सार छली गरेर नेपाल भित्र्याइएको भारतीय पेय पदार्थ (इण्डियन डिउ) सहित मिनि ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्लाको कटारी नगरपालिका–१ बेलस्रोतमा सोमबार बिहान करिब साढे ४ बजे गरिएको नियमित चेकजाँचका क्रममा सो मिनि ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मिर्चैयाबाट घुर्मीतर्फ जाँदै गरेको बा ३ ख ३९६ नम्बरको मिनि ट्रक चेकजाँच गर्दा भन्सार छली गरिएका २ सय ४५ कार्टुन इण्डियन डिउ बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिए । बरामद सामानको मूल्य झण्डै ३ लाख १७ हजार ५ सय २० रुपैयाँ बराबर हुने बताइएको छ ।
प्रहरीका अनुसार सिद्धिचरण लोकमार्गमा खटिएको टोलीले मिनि ट्रक नियन्त्रणमा लिएसँगै चालक सिन्धुलीको फिक्कल गाउँपालिका–५ बस्ने २९ वर्षीय भेषनाथ लुइँटेललाई समेत पक्राउ गरेको हो ।
लुइँटेलसहित बरामद गरिएको मिनि ट्रक र अवैध डिउ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि खैरटोका माडर भन्सार कार्यालय सिरहा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया