काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेस राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका छन् ।
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले कांग्रेसले महिला, दलित, मधेसी, जनजाति तथा सिमान्तकृत समुदायमाथिको विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरेका हुन् ।
नेता पौडेलले आजको लोकतान्त्रिक व्यवस्थाको प्रारम्भिक चरणमै त्यसको वकालत गर्दै अधिकारका लागि लडेको इतिहास नेपाली कांग्रेससँग रहेको स्मरण गराए । तर सोही इतिहास बोकेको पार्टी आज कमजोर अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
पौडेलले नेपालको लोकतन्त्र जोगाउन र देशमा अतिवाद समाप्त गर्न नेपाली कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । नागरिकको अपेक्षा अनुरूप कांग्रेस निर्माण गर्ने प्रक्रियामा पार्टीले धेरै ठाउँमा कमजोरी गरेको स्वीकार गर्दै उनले त्यसको जिम्मेवारी लिनुपर्ने समेतमा जोड दिए ।
नेतृत्वप्रति संकेत गर्दै पौडेलले कांग्रेसको भविष्य जोगाउने कि नेतृत्व रक्षाका नाममा भविष्य समाप्त गर्ने भन्ने निर्णय हातमा रहेको बताए । उनले बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुने बताउँदै पौडेलले विश्वास प्राप्त गर्न नसक्ने नेताले नैतिकताको ख्याल गर्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया