किन घट्यो ईभी आयात ?

विहीबार, ०८ माघ २०८२

काठमाडौं। पछिल्लो समय विद्युतीय गाडी (ईभी) आयात घट्दै गएको छ। यसवर्ष चीनसँगको मुख्य दुई व्यापारीक नाकामा भएको अवरोधका कारणले नेपालमा ईभी आयात घटेको सरोकारवालाहरुले बताएका छन्।

भन्सार विभागले बुधबार जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८२-८३ को पुस सम्म चार पांग्रे विद्युतीय गाडी (ईभी) १२ अर्ब ५ करोड ४५ लाख रुपैयाँको ५ हजार ७१ थान आयात भएको छ।

यो आयात गत आवको सोही अवधिको तुलनामा कम हो। गत आवको सोहि अवधिमा नेपालमा कुल १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको ५ हजार ४८० थान इभी आयात भएको विभागको तथ्यांकले देखाएको छ।

गत असार २३ मा तिब्बतको ल्हेन्दे खोलामा गएको बाढीका कारण मित्तेरी खोलको पुल बगाएपछि रसुवा नाका ठप्प हुँदा र पहिरोका कारण केहि समय तातोपानी नाका समेत ठप्पहुँदा यसवर्ष ईभी आयातमा कमी आएको रसुवा भन्सारका अधिकृत ठाकुर गौतमले जानकारी दिए।

यद्यपि, उक्त खोलामा चीनले अस्थायी बेलिब्रिज निर्माण गरेपछि करीब ६ महिना पछि गत पुस दोस्रो साता देखि नाका पुनः सुचारु भइसकेको छ भने तातोपानी नाकापनि सुचारु नै छ।

तर, लामो समय नाका बन्द रहँदा त्यसैको असर स्वरुप ईभी आयातमा कमी देखिएको गौतमले बताए। उनका अनुसार अहिले रसुवा नाकाबाट सातामा २०–२५ वटादेखि ५० वटा सम्म ईभी आयात हुने गरेका छन्।

आयात भएका ईभीहरू भन्सार क्षेत्रमा राखी बिलिङ तथा पास प्रक्रिया पूरा भएपछि बजारतर्फ पठाइने गरिएको उनले बताए। हाल रसुवामा नयाँ ड्राइपोर्ट निर्माणको काम भने सुरु भइसकेको छैन। अहिले उपलब्ध ड्राइपोर्ट क्षेत्रलाई सरसफाइ तथा व्यवस्थापन गरेर नै प्रयोगमा ल्याइरहेको भन्सार कार्यालयले जनाएको छ।

५८ करोड भन्दा बढीको माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात

चालु आवको पुस सम्ममा ५८ करोड २३ लाख ४६ हजार रुपैयाँको २ लाख ८६ हजार ३३७ थान माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात भएको भन्सारको तथ्यांकले देखाएको छ।

गत आव र चालु आवको यस अवधिमा माइक्रो ओभन, इन्डक्सन र राइसकुकरको आयात तुलना गर्दा आयातमा खासै फरक देखिएको छैन। अघिल्लो आवको पुस सम्म ५८ करोड ३२ लाख रुपैयाँको २१ लाख ९६ हजार ७ सय थान माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात भएको थियो।

स्मार्ट फोनको आयातमा वृद्धि

चालु आवको पहिलो ६ महिनामा २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँको १२ लाख ५२ हजार ६३४ थान स्मार्टफोन आयात भएका छन्। गत आवको सोहि अवधिमा १६ अर्ब ७१ करोड रुपैयाँको ११ लाख ११ हजार थान स्मार्टफोन आयात भएको थियो।

पछिल्लो समय प्रायः मान्छेले सबै जसो बिल भुक्तानी मोबाइल बैंकिङ वा एपबाटै गर्ने र अनलाइन कक्षा लिने, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा आम मानिसको पहुँच बढेका कारण पनि हरेकले स्मार्टफोन बोक्ने गर्छन्। यसले गर्दा हरेक वर्ष नेपालमा स्मार्टफोनको आयात बढेको हो।

पछिल्लो समय विशेषगरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै गएको व्यवसायी बताउँछन्। साथै, अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै उच्च क्षमताका फोनको माग झन् तीव्र बन्दै गएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार