१४३ किलो गाँजासहित उदयपुरबाट तीन जना पक्राउ

विहीबार, ०८ माघ २०८२

उदयपुर । उदयपुर  जिल्लाको बेलका नगरपालिका–७ स्थित कान्चिराङबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार माघ ६ गते राति करिब ८ः४० बजे प्राप्त गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरी टोलीले कान्चिराङबाट खमारेतर्फ बोरामा बोकी पैदल हिँड्दै गरेको अवस्थामा अवैध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले बेलका नगरपालिका–७ खमारेका स्थानीय २१ वर्षीय उमेश राईसहित दुई जना नाबालकलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट करिब १४३ किलोग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। तीनै जना स्थानीय बासिन्दा रहेको पनि प्रहरीले पुष्टि गरेको छ।

यसअघि उदयपुर प्रहरीले गत पुस ११ गते चौदण्डीगढी नगरपालिका–३ पैतालिस चोकमा चेकजाँचका क्रममा ७६३.७६ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको थियो।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै लागुऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीको भनाइ छ।  

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार