धरान । सुनसरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अनुभवी नेतासँगै नयाँ र युवा अनुहारहरू प्रतिस्पर्धामा उत्रिएका छन् । मनोनयन दर्ता सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका फरक–फरक एजेन्डा र नाराले जिल्लाको चुनावी वातावरण थप तातिएको छ ।
सुनसरी क्षेत्र नं. १ बाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका इलामका युवा नेता संजय मेवाहाङ राईले विद्यार्थी राजनीतिबाट संघीय राजनीतिसम्मको यात्रा अनुभवसहित अघि बढेको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उम्मेदवार भई विजयी भएको अनुभव स्मरण गर्दै उनले हार–जित स्वाभाविक प्रक्रिया भए पनि अनुभव नै सबैभन्दा ठूलो उपलब्धि हुने बताए । उनले कोशी प्रदेशमा लामो समयदेखि चलिरहेको ‘नो केवलकार’ आन्दोलन र प्रदेशको नाम खारेजीलाई प्रमुख राष्ट्रिय एजेन्डाका रूपमा अघि सारेका छन् ।
उता, सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका अनुभवी नेता ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बनेका छन् । यसअघि सोही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका कार्कीले विकास, स्थिरता र आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन् । अघिल्लो कार्यकालमा सुरु भएका विकास निर्माणका काम पूरा गर्ने र मुलुकलाई स्थिर तथा समृद्ध बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको उनको भनाइ छ । उनले आर्थिक विकास केन्द्रित कार्यक्रममार्फत जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुनसरी क्षेत्र नं. १ बाट नेकपा एमालेले धरानको विद्यार्थी राजनीतिबाट उदाएका टीकाराम लिम्बू (माङ्लेन) लाई उम्मेदवारका रूपमा अघि सारेको छ । युवा पुस्ताको प्रतिनिधि अनुहारका रूपमा चिनिने माङ्लेन योजनामा आधारित विकासको पक्षधर रहेको बताउँदै वैकल्पिक नेतृत्वका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । धरानको आर्थिक पुनर्जीवन, साना तथा मझौला उद्योग प्रवर्द्धन, पर्यटन र सेवा क्षेत्रमा रोजगारी सिर्जना, खानेपानी र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान, शिक्षा र स्वास्थ्यमा लगानी, युवा उद्यमशीलता तथा किरात लिम्बू लगायत जातजातिका संस्कृति र पहिचान संरक्षण उनका मुख्य एजेन्डा रहेका छन् ।
नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ बाट सुजेन्द्र तामाङलाई उम्मेदवार बनाएको छ । तामाङले किसान, मजदुर, युवा, महिला र व्यवसायीका समस्या संसदसम्म पुर्याउने प्रतिबद्धता जनाउँदै सेवा भावनाका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन् । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीका अधुरा काम कार्यान्वयन गर्ने, युवालाई सीप र रोजगारीमार्फत आफ्नै गाउँ–सहरमा भविष्य देखाउने र भ्रष्टाचार तथा पहुँचवादविरुद्ध स्पष्ट अडान राख्ने उनको एजेन्डा रहेको छ ।
यसै क्षेत्रबाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका साम्पाङले पदबाट राजीनामा दिएर संघीय राजनीतिमा प्रवेश गरेका हुन् । उनले श्रम, उत्पादन र राष्ट्रनिर्माणमूलक कार्यक्रम संघीय तहबाट अघि बढाउने लक्ष्यसहित चुनाव लडेको बताएका छन् । कुनै गठबन्धनमा नजाने स्पष्ट अडान लिएका साम्पाङले आवधिक निर्वाचन लोकतन्त्रको आधार भएको उल्लेख गर्दै भ्रष्टाचार, परम्परागत राजनीति र विदेशी प्रभावविरुद्ध सचेत रहने बताए ।
मनोनयन दर्ता सकिएसँगै सुनसरीको चुनावी माहोल निकै चहलपहलपूर्ण बनेको छ । लामो समयदेखि राजनीतिमा सक्रिय अनुभवी नेताहरू र पहिलोपटक संसद् प्रवेशको आकांक्षा बोकेका नयाँ उम्मेदवारबीच प्रत्यक्ष प्रतिस्पर्धा देखिएको छ । अनुभवी उम्मेदवार अनुभव र पहुँचलाई आधार बनाइरहेका छन् भने नयाँ उम्मेदवार परिवर्तन, युवाको अपेक्षा र वैकल्पिक राजनीतिलाई मुख्य मुद्दा बनाएर मतदातासम्म पुग्ने प्रयासमा छन् ।
मुख्य निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा जम्मा ११० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ, जसमा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं. ४ मा परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा कुल ५ लाख ८० हजार ९४५ मतदाता कायम छन् । जिल्लाभर १६७ मतदान स्थल र ६२४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
प्रतिक्रिया