पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार

आइतबार, ११ माघ २०८२

काठमाडौं : नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानुनी गतिविधि भइरहेको तथ्य खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सघन अनुसन्धान गरिएको जानकारी दिए ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख केसीले करिब साढे दुई महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान अघि बढाइएको बताए ।

अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंकबाट प्राप्त एक हजारभन्दा बढी कारोबारको विवरण अध्ययन गरिएको उनले बताए । केसीका अनुसार प्रारम्भिक चरणमा ‘माउन्टेन रेस्क्यु सर्भिस’ का १ हजार २४८ वटा कारोबारमध्ये १७१ वटा शंकास्पद देखिएका छन् ।

यस्तै, ‘नेपाल चाटर्ड सर्भिस’ का ४७१ कारोबारमध्ये ७५ वटा शंकास्पद रहेको पाइएको छ । अनुसन्धानका क्रममा करिब तीन करोड रुपैयाँ बराबरको शंकास्पद ट्रान्जेक्सन देखिएको सिआइबीले जनाएको छ ।

उनले भने, ‘साढे दुई महिनाभित्रमा हामीले फेक रिर्सच सम्बन्धि एउटा छुटै युनिट कार्यदल बनाएर कार्य गर्यौं । हजार भन्दा बढी राष्ट्र बैंकबाट प्राप्त रमकहरुको अनुसन्धान गर्यौं । डाटाहरु हेर्दा पहिलो चरणमा माउन्टेन रेस्क्यु सर्भिस भन्नेले १२४८ वटा मध्ये एक सय ७१ वटा शंकास्पद देखियो । नेपाल चाटर्स सर्भिसले ४७१ मा ७५ जना शंकास्पद् छ । लगभग तीन करोड चाँही शंकास्पद् ट्रान्जेक्सन देखिएको अवस्था छ । धेरै समय र धेरै अनुसन्धान गर्यौं । हामीसँग प्रमाण भएको कुरा कानुनी दायरामा ल्याउनुपर्छ भनेर लागेका छौं । नक्कली उद्धार अहिले पनि भइरहेको छ । पहिला मात्रै होइन ।’

उनले नक्कली उद्धारको गतिविधि विगतमा मात्र नभई हाल पनि भइरहेको दाबी गर्दै यसप्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि अनुसन्धानलाई निरन्तरता दिइने बताए । यसैगरी सीआईबीले २ हजार भन्दा बढी रेस्क्युको अनुसन्धान गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार