काठमाडौँ : सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नगरिएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाखभन्दा बढी आर्थिक सहायता दिलाएको छ।
वीरगन्जस्थित एक टेक्सटाइल कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि परिवारलाई आश्रित परिवारले पाउनुपर्ने सुविधाबापत २० लाख ४३ हजार ६४५ रुपैयाँ ८४ पैसा उपलब्ध गराइएको हो। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले मृतककी श्रीमती उमादेवीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।
श्रमिक कानुको २०७९ साउन २७ गते मृत्यु भएको थियो। रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएकाले परिवार सामाजिक सुरक्षाबाट वञ्चित भएको थियो। त्यसपछि श्रीमती उमादेवीले २०७९ कात्तिक २५ गते आवश्यक सुविधा उपलब्ध गराउन निवेदन दिएका थिए।
कोषले २०७९ मङ्सिर १५ गते रोजगारदातालाई जानकारी गराउँदै पत्राचार गरेको थियो। रोजगारदाता र पीडित पक्षबीच सहमति हुन नसकेपछि कोषले आश्रित परिवारलाई सुविधा दिन रोजगारदातालाई आदेश दिएको थियो। आदेशविरुद्ध रोजगारदाताले उच्च अदालत पाटनमा पुनरावेदन गरे पनि २०८० चैत १२ गते अदालतले कोषको निर्णय सदर गरेको थियो।
उक्त फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको रोजगारदाताको निवेदन पनि अस्वीकृत भएपछि कोषले गत मङ्सिर २८ गते नेपाल राष्ट्र बैंकलाई रोजगारदाताको बैंक खाता रोक्का गर्न पत्राचार गरेको थियो। आश्रित परिवारलाई रकम भुक्तानी गरेपछि खाता फुकुवा गरिएको कोषले जनाएको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐनअनुसार कोषमा सूचीकरण नगर्ने वा योगदान नबुझाउने रोजगारदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न, सहुलियत निलम्बन गर्न, इजाजतपत्र वा राहदानी रोक्का गर्नेसम्मको अधिकार कोषलाई छ। सूचीकृत रोजगारदाताले योगदान नबुझाएपछि दुर्घटना वा मृत्यु भएमा सो बराबरको सुविधा रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने व्यवस्था पनि ऐनमा छ।
कार्यक्रममा कार्यकारी निर्देशक अधिकारीले श्रमिकलाई कोषमा आबद्ध नगराइएका कारण आश्रित परिवार सुविधा नपाउन नदिने अधिकार कोषसँग रहेको बताए। मृतककी श्रीमती उमादेवीले कोषबाट न्याय पाएको बताए।
प्रतिक्रिया