अत्यधिक गर्मीका कारण विराटनगर, इटहरी र इनरुवाका विद्यालयहरुमा बिदा

विहीबार, १८ जेठ २०८०
विराटनगर । केही दिनयता अत्यधिक बढिरहेको गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । यसले शैक्षिक क्षेत्रमा पनि असर देखिएको छ । गर्मी अत्यधिक बढेपछि स्थानीय तहहरुले विद्यालयमा बिदा दिने निर्णय गरेका छन् । वर्षे बिदाबाट कट्टी हुने गरी कतै दुई दिन, कतै एक सातासम्म बिदा दिइएको छ । मोरङको विराटनगर महानगरपालिका तथा सुनसरीका इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिका क्षेत्रका विद्यालयमा बिदा दिइएको हो । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन विदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले बिहीबार र शुक्रबार विदा दिने निर्णय गरेको हो । नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे विदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । पूर्वनिर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुने जनाइएकोछ । सुनसरीको इनरुवामा पनि एक साताका लागि विद्यालयहरुमा बिदा दिइएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा कठिनाइका साथै विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले जेठ १८ देखि २४ गतेसम्म बिदा दिइएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए । यसैगरी इटहरी उपमहानगरपालिकामा जेठ १८ र १९ गते दुई दिन सबै विद्यालयहरु बन्द गरिने भएको छ । वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरुमा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाले सूचना जारी गरी जनाएको छ । केही दिनयता पूर्वी तराईमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार