सेवा आयोगका अध्यक्षमाथि भएको दुर्व्यवहारप्रति आपत्ति

मंगलबार, ३० जेठ २०८०
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि भएको दुर्ब्यवहारलाई लिएर विश्वविद्यालयका डीनहरुले आपत्ति जनाएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न पाँच संकायका डीनले विद्यार्थीहरुले गरेको दुर्ब्यवहारप्रति आपत्ति जनाएका हुन ्। ब्यवस्थापन संकायका डीन प्रा.डा. विजुकुमार थपलियाले उत्पन्न समस्याको समाधानको बाटो खोजिनुपर्नेमा जोड दिए । विद्यार्थीहरुको माग र विश्वविद्यालयको ब्यवस्थापन पक्षबीच सहज वार्ताको वातावरण अघि बढाउन सके देखिएका समस्या समाधान हुने उनको भनाई छ । चिकित्साशास्त्र संकायका निमित्त डीन नवीन लामिछानेले शैक्षिक संस्थाका जिम्मेवार पदाधिकारीमाथि भएको गैरशैक्षिक क्रियाकलापले विश्वविद्यालयको गरिमामा आँच आएको बताए । विज्ञप्तिमा प्रा.डा थपलिया, निमित्त डीन लामिछाने, कला कानून तथा शिक्षाशास्त्र संकायका डीन प्रा.डा अनिलकुमार पोखरेल, विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. पवनकुमार झा र इन्जिनियरीङ संकायका डीन प्रा. देवीप्रसाद भट्टराईको हस्ताक्षर छ । सुनसरीको तरहरास्थित विश्वविद्यालयको क्वाटरमा बसेका आयोग अध्यक्ष महेश दाहालमाथि विद्यार्थीहरुले सोमबार कालोमोसो दलेका थिए । विश्वविद्यालयमा पटक–पटक सुधारका लागि विगत ५ महिनाबाट ध्यानाकर्षण गराउँदासमेत आयोगले कुनै सुनुवाइ नगरेको विद्यार्थीहरुको आरोप रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार