नयाँ सरकार गठनका लागि भोलिसम्म दाबी पेश गर्नुपर्ने

शनिबार, ०९ पुस २०७९
राजनैतिक दल नयाँ सरकार निर्माणको रस्साकस्सीमा छन्  । तर अहिले सम्म कस्को सरकार बन्छ र सरकारको नेतृत्व कस्ले गर्छ भन्ने यकिन भैसकेको छैन । यता राष्ट्रपति कार्यालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि अर्थात आइतबार साँझसम्म रहेको छ । यतिबेला निरन्तर गठबन्धनका दल छलफलमा छन् । तर, सहमति हुन सकेको छैन । राष्ट्रपति कार्यालयले गत आइतबार (पुस ३) साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेको थियो । त्यो समयसीमा सकिनै लाग्दा पनि दलहरुले सरकार गठनको खाकासमेत तयार पार्न सकेका छैनन् । राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने हुन्छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति पुस १० गतेभित्र दाबी पेस गर्न आग्रह गरेकी हुन् । सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच नयाँ सरकारमा शक्ति बाँडफाँडमा कुरा मिलेको छैन । निरन्तर छलफलमा रहे पनि दलीय अडानका कारण शीर्ष नेताले कुनै प्रगति गर्न सकेका छैनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार