झापा । झापाको प्रशिद्ध धार्मिकस्थल कनकाई–४ स्थित कनकाई धाम (कोटीहोम) को माई खोला किनारमा विश्व–शान्ति विराट महायज्ञ महाअनुष्ठान हुने भएको छ ।
ॐआदि फाउण्डेसनको आयोजनामा यही कार्तिक २३ देखि २५ गतेसम्म सञ्चालन हुने महाअनुष्ठानको तयारी धमाधम भइरहेको आयोजक समितिले जनाएको छ । विश्व बसुधामा शान्ति स्थापनार्थ परमपुज्य बालब्रम्हाज्ञानी गुरु आदि चन्द्र योगीद्वारा परिकल्पित अलौकिक एवम् अद्भूत आध्यात्मिक विधिका साथ आयोजना हुने ऐतिहासिक महायज्ञ महानुष्ठानमा स्वस्तिक आकृतिभित्र स्थापित गरिने भव्य यज्ञ मण्डपमा विशिष्ट याज्ञिक एवम् साधानात्मक विधि प्रक्रियाहरूका साथ १०८ दिव्य हवनकुण्डमा सयौँ साधकहरूको सहभागिता रहने जनाइएको छ ।
स्वस्तिक आकृतिभित्र ॐ, शिव लिङ्ग, महाकाली र त्रिशूल चार दिशामा राखिने छ । कार्तिक २३ गते बिहान ६ बजे देवीदेवताको प्रतिमा स्थापना गरी शुरु हुने महानुष्ठान राति १२ बजेसम्म तन्त्र साधनाका साथ सम्पन्न हुनेछ । त्यस्तै कार्तिक २४ गते बिहान ६ बजे नित्य पूजाबाट पुनः शुरु हुने महानुष्ठान राति १२ बजे विशेष कर्मका साथ सम्पन्न हुनेछ ।
अन्तिम दिन कात्तिक २५ गते बिहान ६ बजे नित्य पूजाबाट शुरु हुने महानुष्ठान दिउँसो ३ बजे समापन हुने आयोजक समितिले जनाएको छ ।
प्रतिक्रिया