विराटनगर / झापा हल्दिबारी–४ का ४० वर्षीया अनिता पौडेलको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ ।
बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।
सामान्य ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारका लागि उनलाई बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रवार निधन भएको हो ।
मृतक पौडेल हल्दिबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहेकी थिइन् ।
झापामा यस वर्ष पहिलो पटक डेंगु सङ्क्रमणबाट मृत्यु भएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
गत वर्ष बीएण्डसी अस्पतालमै पाँच जनाको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो ।
डेंगुका बिरामीहरू बीएण्डसी अस्पतालमा मात्र हाल केही बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया