पाँच जिल्लाका विपन्नलाई इन्डक्सन चुल्होमा अनुदान

आइतबार, २७ साउन २०८१
इलाम / कोसी प्रदेशका पाँच जिल्लामा विद्युतीय चुल्हो प्रवर्द्धन परियोजना सुरु भएको छ ।
प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र इलामले कोसी प्रदेशका ५ वटा जिल्लाहरू इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा र सुनसरीमा सात हजार  घरधुरीमा विद्युतीय चुलाको प्रवर्द्धन गर्ने परियोजना सञ्चालन गर्ने भएको हो ।
परियोजना संयोजक घनेन्द्र भण्डारीका अनुसार मुख्य उद्देश्य दाउराबाट खाना पकाउने घरधुरीलाई स्वच्छ र स्वदेशी  ऊर्जाको प्रयोग गरी खाना पकाउने र महिला तथा बालबालिकामा हुने धुवाँजन्य रोगलाई न्यूनीकरण गर्ने रहेको छ ।
 विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार नेपालमा प्रतिवर्ष करिब २३ हजार मानिसहरूको मृत्यु धुवाँजन्य रोगले हुने गरेको तथ्याङ्क रहेको छ ।
कार्यक्रमले विद्युतीय चुलो इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसर कुकरलाई प्रवर्द्धन गर्नेछ । कार्यक्रमले गरिब तथा विपन्न वर्ग र लक्षित समुदायलाई अनुदानको पनि व्यवस्था गरेको छ ।
सो परियोजना अन्तर्गत दुई हजार वाटको इन्डक्सन चुलो र इलेक्ट्रिक प्रेसर कुकरलाई प्रति परिवार दुई हजार ७० रुपैयाँ, १४०० वाट देखि १६०० वाट सम्मको इन्डक्सन चुलोलाई एक हजार सात सय ५० रुपैयाँ, इन्फ्रारेड चुलोलाई एक हजार दुई सय रुपैयाँ अनुदानको व्यवस्था गरेको छ ।
त्यस्तै गरी स्थानीय सरकारले पहिचान गरेका अति विपन्न समुदायका घरपरिवारलाई भान्सा घरमा  विद्युतीय चुलो राख्न वायरिङको लागि एक हजार एक सय घरधुरीलाई प्रतिपरिवार एक हजार ६ सय रुपैंया उपलब्ध गराउनेछ ।
अनुदानको व्यवस्था स्थानीय स्तरमा उपलब्ध र कार्यक्रम प्रवर्द्धनमा इच्छुक विक्रेता छनौट गरी विक्रेता मार्फत उपलब्ध गराइने  संयोजक घनेन्द्र भण्डारीले जानकारी दिए ।
विद्युतीय चुलो प्रयोग गरेर विद्युतको महसुल ४ महिनाको लागि प्रति महिना एक सय ३७ रुपैयाँ तर रु पाँच सय ५० मा नबढ्ने गरी विद्युतीय चुलो प्रयोग गरे बापत प्रोत्साहन रकमको पनि व्यवस्था गरेको छ ।
कार्यक्रमले ५ वटा जिल्लाका २५ गाउँपालिका नगर पालिकालाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार