आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियानका लागि समिति गठन

मंगलबार, २९ साउन २०८१
इलाम / देशभरमा बढी आत्महत्या हुने जिल्ला भनेर चिनिने इलाममा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियानका लागि समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख तथा प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालको संयोजकत्वमा १८ सदस्यीय समिति गठन भएको हो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएको बैठकले गठन व्यवस्थापन अभियानका लागि समिति गठन गरेको हो । समितिको सदस्यहरूमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आदित्य शाक्य, जिल्ला अस्पतालका डाक्टर पवन मोक्तान, इलाम आयुर्वेद औषधालयका प्रमुख लालदेव मण्डल, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख डम्बरबहादुर सुवेदी र जनप्रतिनिधि इलाम नगरपालिका वडा नम्बर ७ अध्यक्ष नरेश श्रेष्ठ रहेका छन् । यस्तै जिल्लास्थित सरोकारवाला तथा गैर सरकारी संस्थाहरूबाट नेपाल रेडक्रस सोसाइटी इलामका सभापति शिवप्रसाद गौतम, उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेल, होटल व्यवसायी सङ्घका प्रकाश चापागाईँ, नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष सुनिता राई, गैर सरकारी संस्था महासङ्घका कमल प्रसाद नेपाल, मानव अधिकार मञ्च नेपाल इलामका भक्त थामी, चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेल सदस्य रहेका छन् । समितका अन्य सदस्यहरूमा मनोविमर्शकर्ता गायत्री थेगिम, योग प्रशिक्षक यादव राउत र मुना गदालसँगै प्रहरी निरीक्षक रमेश राई रहेका छन् । समितिले आत्महत्या न्यूनीकरण व्यवस्थापन तथा कार्य योजना २०८१ कार्यान्वयन गर्न पालिका, वडा तथा टोल बस्तीस्तरममा कार्यदल गठन गर्नेछ । कार्यदलले कार्य योजना अनुसार जिल्लामा जिल्ला स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल समित बनाउनेछ । कार्य योजना कार्यान्वयन गर्न गाउँ तथा टोल बस्ती स्तरमा कार्यदल बनाएर आत्महत्या गर्न सक्ने व्यक्तिको पहिचान, परामर्श पुन: स्थापनाको काम गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा समिति संयोजक ढकालले जानकारी दिए । उनका अनुसार पालिका वडा तथा टोल बस्ती स्तरको कार्यदललाई स्थानीय तहको समन्वयमा आत्म हत्या न्यूनीकरण तथा रोकथामको विषयमा प्रशिक्षित गराई गाउँ बस्ती स्तरमा अभियान सञ्चालन गरिनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार