पर्यटक तान्दै 'भाइरल' पुल

बुधबार, ३० साउन २०८१
इलाम / झोलुङ्गे पुल हामीले धेरै वर्ष अधि देखी प्रयोग गर्‍यौँ र गरिरहेका पनि छौँ । तर पछिल्लो समय सडकको विस्तारसँगै यात्रु सवारीबाट नै यात्रा गर्ने क्रम बढेसँगै झोलुङ्गे पुलको प्रयोग कम हुने गरेको छ । मानिस नयाँ नयाँ वस्तुको खोजी गरिरहेको हुन्छ । थोरै मात्र नयाँ भयो भने मात्र पनि कहिले काहीँ निकै ठुलो चर्चा हुने गर्दछ । पर्यटक तान्न खास धेरै काम गर्नै नपर्ने रहेछ भन्ने उदाहरण बनेको छ इलाममा निर्माणाधीन पुल । इलाम नगरपालिका–६ र देउमाई नगरपालिका–६ बिचको पुवा खोलामा निर्माणाधीन पुलमा निर्माण सम्पन्न नहुँदै दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्न थालेका छन् । धेरै मान्छे पुग्ने र सामाजिक सञ्जालमा भिडियो फोटो अब्लोट हुने गरेका कारण यस पुलको नाम 'भाइरल' पुल नामकरण भएको छ । झोलुङ्गे पुल नयाँ पुस्ता र बालबालिकाका लागि खास नै हुने गरेको छ । युवा पुस्ताको लहै लहैमा पाका उमेरका मानिसहरूको समेत सो पुलमा उत्तिकै उपस्थिति रहने गरेको छ । कुनै बेला निकै बाक्लो सङ्ख्यामा पर्यटक भित्रिने इलाममा पछिल्लो समय पर्यटकको सङ्ख्या घट्दै गएपछि इलाम नगरपालिकाले पर्यटक भित्र्याउन निकै ठुलो प्रयास गरिरहेको छ । इलाम नगरपालिकाकै पहलमा इलाम र देउमाई नगरपालिका जोड्ने ३ सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । करिब ९० प्रतिशत काम पुरा भएको यस पुलमा हाल सयौँको सङ्ख्यामा पर्यटक पुग्न थालेका छन् । निकै अग्लो र लामो पुल भएका कारण पनि यहाँ पर्यटकको सङ्ख्या बढेको बताइएको छ । आकर्षक पुल भनेर सामाजिक सञ्जालमा चर्चा पाएपछि पुलमा पुगेको इलाम बजारकी बिनु घिमिरेले बताइन् । पुगेपछि निकै आकर्षक पुल भएको महसुस भएको उनको भनाई छ । हरियाली दृश्यावलोकन गर्न चाहानेहरुका लागि एकदमै राम्रो गन्तव्य भएको उनी बताउँछिन् । सुन्दर र मनमोहक दृश्यावलोकनका लागि यहाँ पर्यटक पुग्ने गरेका छन् । पुल निर्माणपछि छेउमा नै रहेको धार्मिक क्षेत्र सेतीदेवीको चर्चा समेत बढेको छ ।   प्रसिद्ध सेतीदेवीमा दैनिक श्रद्धालु भक्तजनहरूको भिड समेत लाग्ने गरेको छ । लामो पुलबाट दृश्य नियाल्न र सेतीदेवीको दर्शन गर्न इलाम सदरमुकाम सहित जिल्ला बाहिरबाट समेत पर्यटक आउन थालेका छन् । यहाँ धेरै पर्यटक पुग्न थालेपछि अस्थायी टहरा निर्माण गरेर स्थानीयले व्यापार समेत गर्न थालेका छन् । स्थानीय बुद्धिमान राईले केराका विभिन्न परिकारको स्वाद समेत चखाउन थालेका छन् । उनले केरा सहित स्थानीय परिकारलाई प्राथमिकतामा राखेर स्टलमा सामान राख्न थालेको बताए । स्थानीय स्तरमा उत्पादन भएको वस्तुलाई बिक्रीका लागि समेत स्थानीयलाई सहज भएको छ । पुल कूल दुई करोड आठ लाख १९ हजार १२० रुपियाँको लागतमा निर्माण गर्ने सम्झौता भएको हो । यो पुलको चर्चा बटुल्न र पर्यटकको भिड बढाउन सामाजिक सञ्जालले समेत महत्त्वपूर्ण काम गरेको छ । पुलमा पुगेर सेल्फी सहितका तस्बिर खिच्नकै लागि धेर पर्यटक पुग्ने गरेका छन् । यो पुलले इलाममा पर्यटकको सङ्ख्या वृद्धि गर्ने भन्दै सो स्थानसम्म जान सडकको स्तर उन्नति नगरपालिकाले गरिरहेको मेयर केदार थापाले बताए । पुल लगायत सेतीदेवी मन्दिरमा जान इलाम सदरमुकामबाट जाने थोरै क्षेत्र मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । यसलाई इलाम नगरपालिकाले प्राथमिकतामा राखेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार