चुलाचुली गाउँपालिकाका अधिकांश सडक कालोपत्रे

आइतबार, ०२ भदौ २०८१
इलाम / चुलाचुली गाउँपालिकाका अधिकांश मुख्य सडक कालोपत्रे भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छ वटै वडा कार्यालय जोड्ने सडक कालोपत्रे गरिएको छ ।
चुलाचुली गाउँपालिकाले सबै टोलमा कालोपत्रे सडक पुर्‍याउने उद्देश्यले थालेको पहिलो चरणको योजना पूरा गरेको हो ।
सबै वडामा कालोपत्रे सडक पुर्‍याउने पहिलो चरणको योजना सम्पन्न भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।
चुलाचुली गाउँपालिकाले छ वटै वडा जोड्ने सडक कालोपत्रे गर्ने योजना कार्यान्वयन गरेको हो ।
चुलाचुली गाउँपालिकामा हालसम्म विभिन्न सडकका १५ किलोमिटर सात सय मिटर सडक कालोपत्रे भएको छ । पहिलो चरणमा उक्त दूरीमा कालोपत्रे गरिएको हो ।
गाउँपालिका अध्यक्ष केरुङका अनुसार आर्थिक वर्ष २०८० ८१ मा मात्र पाँच किलोमिटर तीन सय मिटर सडक कालोपत्रे गरिएको छ । दुई किलोमिटर एक सय मिटर सडक गाउँपालिकाको आफ्नै स्रोतबाट कालोपत्रे गरिएको हो ।
तीन किलोमिटर दुई सय मिटर सडक सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्रे गरिएको अध्यक्ष केरुङले जानकारी दिए ।
वडा नं १ स्थित चुलाचुली मार्गको आठ सय मिटर सडक गाउँपालिकाको स्रोतबाट रु. एक करोडको लगानीमा कालोपत्रे सम्पन्न गरिएको छ ।
सोही सडकको अर्को सात सय ५० मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा रु ८७ लाख ३८ हजारको लगानीमा कालोपत्रे गरिएको छ ।
त्यस्तै वडा नं २ स्थित हिमाली मार्गको एक किलोमिटर तीन सय मिटर सडक कोसी प्रदेश सरकारसँगको ३५ प्रतिशत साझेदारीमा रु. ९९ लाख ९५ हजार सात सय ८२ लगानीमा कालोपत्रे गरिएको अध्यक्ष केरुङले बताए ।
सो सडकको चार किलोमिटर एक सय मिटर सडक पटक पटक गरी अघिल्लो आर्थिक वर्षमा कालोपत्रे गरिएको थियो ।
वडा नं ५ स्थित चुलाचुली मार्गको एक किलोमिटर दुई सय १५ मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा रु. ८७ लाख ३६ हजार दुई सय ३६ को लगानीमा कालोपत्रे गरिएको छ । सो सडकको अर्को एक किलोमिटर दुई सय मिटर सडक अघिल्लो आव २०७९/८० मा कालोपत्रे गरिएको थियो ।
त्यसै गरी वडा नं ६ स्थित चुलाचुली मार्गको एक किलोमिटर तीन सय मिटर सडक गाउँपालिकाको स्रोतबाट रु एक करोड ८७ लाखको लगानीमा सुरु भएको कालोपत्रे अन्तिम चरणमा पुगेको चुलाचुली गाउँपालिकाका इन्जिनियर क्षितिज दाहालले जानकारी दिए ।
इन्जिनियर दाहालका अनुसार कालोपत्रेका लागि ड्रेन, सब बेस र बेस हाल्ने काम सकिएको छ ।
वडा नं ३ र ४ कार्यालय जोड्ने सडक अघिल्लो वर्षहरूमा कालोपत्रे गरिएको थियो ।
वडा नं ३ मा आव २०७९र८० मा चुलाचुली मार्गको एक किलोमिटर सात सय मिटर र वडा ४ मा सोही मार्गको पटक पटक गरी आव २०७९र८० सम्ममा तीन किलोमिटर चार सय मिटर सडक कालोपत्रे गरिएको थियो ।
पूर्वपश्चिम लोक मार्ग र चुलाचुलीको माथिल्लो भेगमा निर्माणाधीन मदन भण्डारी लोक मार्गलाई जोड्ने लक्ष्यका साथ गाउँपालिकाले सडक कालोपत्रे गर्न प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।
“वडा कार्यालय पुग्ने वडाका सडकलाई कालोपत्रे गर्न कतिपय सडक सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्रे गरिएका छन् भने कतिपय सडक गाउँपालिकाले आफैँ बजेट विनियोजन गरेर पिच गरिएको छ,’ अध्यक्ष केरुङले भने, “आगामी दिनमा पनि सडक कालोपत्रे गर्नेछौँ ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार