ताप्लेजुङ गोल्डकप : शून्य भाषणको हुने

आइतबार, ०२ भदौ २०८१
ताप्लेजुङ / आगामी भदौ ३ गतेदेखि हुन लागेको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितालाई यस वर्ष भाषण शून्य बनाउने विषयमा छलफल सुरु भएको छ । लाखे जात्राको अवसरमा मञ्चमा अतिथि बोलिरहने हुँदा दर्शक दीर्घमा रहेकाले फुटबलमा किन भाषण भनेर प्रश्न गर्ने गरेकाले यस वर्ष सो का लागि छलफल सुरु भएको हो । समय पनि बचत गर्नुपर्ने भएकाले सिधै प्रतियोगिता गर्ने तयारीमा आयोजक पुगेको जनाइएको छ । यस वर्ष प्रमुख अतिथि र विशिष्ट अतिथि पनि नराख्ने तयारी आयोजकको छ । एक दिन प्रमुख अतिथि, विशिष्ट अतिथि भएको व्यक्तिलाई अर्को दिनको खेल हेर्न जान समस्या हुने गरेको भन्दै यस्तो अभ्यास गर्न लागिएको आयोजक श्रोतले बताएको छ । हरेक दिनको प्रतियोगिता अवलोकनका लागि जिल्लाका सबै प्रतिष्ठित महानुभावलाई बोलाउने, मर्यादाक्रम अनुसार आसन ग्रहण गराउने, खेलाडीको हौसला बढाउन खेलाडीसँग हात मिलाएर फर्कन आग्रह गर्ने तर प्रमुख, विशिष्ट जस्ता शब्दावली नझुन्डाउने र मन्तव्य नराख्ने तयारी गरेको हो । यसो गरे हरेक दिनको खेल निर्धारित समयमै गर्न सकिने आयोजकको बुझाई छ । फुटबललाई खेलमै केन्द्रित गर्न र दर्शकको अपेक्षालाई पुरा गर्न ढाँचा परिवर्तनका विषयमा तयारी गरिएको आयोजक समितिका सचिव टिकेन्द्र नेपालीले बताए । यस वर्षको प्रतियोगितामा आयोजकले पुरस्कार राशिमा समेत वृद्धि गरेको छ । यसअघि गोल्डकप विजेता र उपविजेताले प्राप्त गर्दै आएको क्रमशः तीन लाख ११ हजार १११ र एक लाख ११ हजार १११ रुपियाँ राशिको नगद पुरस्कारमा वृद्धि गर्ने तयारी गरिएको पनि आयोजकले जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार