राजदुवाली–गोलाखर्क खण्डको विकल्प खोजिँदै

बुधबार, ०५ भदौ २०८१
इलाम /  मेची राजमार्गको राजदुवाली–गोलखकर्क भन्ज्याङ खण्डको विकल्प खोज्न बजेट विनियोजन गरिएको छ । यो खण्ड वर्षौंदेखि करोडौँ रुपैयाँ खर्चिँदा पनि सुध्रिनुको सट्टा झन्–झन् बिग्रिरहेको छ । यो सडक खण्डको वैकल्पिक ट्र्याक खोल्न सबैजसोले सुझाव दिएपछि सङ्घीय सरकारले चालु वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय सरकारले इलाम नगरपालिका–१०, गोदकको सिमल गोलाईदेखि माइजोगमाई गाउँपालिकामा पर्ने माई बेनी हुँदै इलाम तिल्केनी जोड्ने वैकल्पिक सडकका लागि बजेट विनियोजन गरेको हो । वैकल्पिक सहायक सडक कार्यक्रमअन्तर्गत यसका लागि बजेट विनियोजन भएको इलामस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । माई खोला राजदुवाली पुलभन्दा माथिको राजमार्ग बर्खामा बगेर सवारी साधन चल्नै सास्ती हुने गरेको छ । सडक कार्यालयले पटक–पटक मर्मत गरे पनि जमिन नै बगेपछि राजमार्ग झन्–झन् बिग्रिरहेको छ । झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म जोड्ने यो राजमार्ग मेची क्षेत्रको ‘लाइफ लाइन’का रूपमा छ । डिभिजनका इन्जिनियर लक्ष्मण बरालले यो सडक खण्डमा करिब तीन सय मिटर भू–भागमा बगिरहेको राजमार्ग कुनै पनि प्रविधिबाट दीर्घकालीन रूपमा अड्याउन नसकिएको बताए । केही साताअघि स्थलगत अध्ययन पुगेका उनले भनेका थिए, ‘यहाँ भएका अध्ययनमा पनि भौगर्भिक अवस्थाकै कारण सडक धस्सिरहेको छ । अब यसलाई हिलो फ्याँकेर, ग्राभेल हालेर केही समयलाई त सडक चालु गराउन सकिन्छ तर दिगो हुने देखिँदैन ।’ करिब पाँच वर्षअघि पनि भौगर्भिक अध्ययन टोलीले राजदुवाली पुलभन्दा माथिको भू–भाग भित्रभित्रै बग्दै गरेको जनाएको थियो । काठमाडौँस्थित इटिको नेपाल प्रालिले गरेको अध्ययनअनुसार सतहभन्दा १५ मिटरमुनिको जमिन बग्ने र भास्सिनेगरेको जनाएको थियो । माइखोलादेखि माथि करिब तीन सय मिटर भू–भागमा भित्रभित्रै जमिन दब्ने र बग्ने गरेको अध्ययनले देखाएको थियो । सतहभन्दा करिब २० देखि २५ मिटर तलसम्म रड राखेर एंकरिङ गर्ने र कङ्क्रिट वाल निर्माण गर्ने सुझाव दिइएको थियो । त्यसैअनुसार सडक डिभिजनले छ करोड ७७ लाख रुपैयाँ खर्चेर सडकको एंकरिङ्ग गर्ने र वाल लगाउने काम गरेको थियो । तर, अहिले त्यो पनि भास्सिएर काम नलाग्ने भएको छ । यहाँको जमिन दिनदिनै धस्सिएकाले राजमार्ग बन्द हुने अवस्था छ । मालवाहक र यात्रुवाहक सवारीका साधन जोखिम मोलेर चलिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार