इलाम / एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा इलाममा भव्यता रुपमा मनाइएको छ । जात्रा इलाम बजारमा बिहिबार निकालिएको हो ।
जनै पुर्णिमापछि आउने पहिलो बिहिबार यहाँ रोपाइँजात्रा निकालिन्ने गरिएको छ । राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.सं. १९७२ मा सुुरु गरेको रोपाइँ जात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाइमा निकालिन्छ ।
यसले जिल्लाको पर्यटन प्रवर्द्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग पुर्याउँदै आएको छ । नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास छ ।
इलाम कला–संस्कृतिको धरोहर भएकाले युवापुस्तामा कला संस्कृति जगेर्ना गराउन सिकाउने उद्देश्यका साथ विगत १० वर्षदेखि नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइँ जात्रा सञ्चालन भइरहेको छ ।
जात्रालाई स्थानीय पर्वका रूप मनाउँदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानहरूका विद्यालयहरूमा बिहीबार बिदासमेत दिइने गरिन्छ ।
रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपाहारले धान रोपेझैँ गरेर यो जात्रा मनाइन्छ ।
नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायको सहभागिता रहन्छ ।
त्यस्तै इलामको मङ्गलवारे बजार सहित माइजोगमाईको नामसालिङ र देउमाई नगरपालिकाकै जितपुर माई नगरपालिकाको शुक्रबारे बजारमा पनि यो जात्रा निकालिने गरेको छ ।
प्रतिक्रिया