इलाम / नेपालमा उत्पादित चियाको प्रतिस्पर्धा गराइने भएको छ । नेपाली अर्थोडक्स चिया उत्पादकलाई खुला बजारमुखी एवं स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदान लागि चियाको प्रतिस्पर्धा गराइने भएको हो । नेपालमा पहिलो पटक चियाको गुणस्तरमा प्रतिस्पर्धा गराइने भएको जनाइएको छ ।
भदौ ११ गते काठमाडौँको छाया कम्लेक्समा स्वदेशी तथा विदेशी बजारमा नेपाली अर्थोडक्स चियाको माग र बजार विस्तारको सम्भावना खोजी गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जनाइएको छ । इलामको सूर्योदय नगरपालिकामा रहेको टी९स्टेसन इन्क आयोजनामा प्रतिस्पर्धा हुने भएको हो ।
प्रतियोगिता आयोजक टी९स्टेसन इन्कका अध्यक्ष प्रज्वल प्रधानले प्रतियोगितामा नेपालका साना ठुला सबै गरी १०० भन्दा बढी चिया उद्योगले प्रतिस्पर्धामा भाग लिने जानकारी दिए ।
उनका अनुसार काठमाडौँमा चिया व्यवसाय सञ्चालन गरिरहेका ७० भन्दा बढी होलसेलर, रिटेलर, निर्यातकर्ता र प्याकेजरले एकै ठाउँमा चियाको स्याम्पल हेर्न र चाख्न पाउने छन्।
आयोजक टी स्टेसन इन्कले नेपाली अर्थोडक्स चिया उत्पादकलाई खुला बजारमुखी एवं स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदान गर्न, प्रतिस्पर्धी एवं स्वच्छ व्यापारको माध्यमबाट स्वदेशी चियाको मूल्य शृङ्खलाको क्षमता विकास गर्दै राष्ट्रिय उत्पादकत्व र गुणस्तरमा अभिवृद्धि गर्न यस्तो प्रतिस्पर्धा गराउन लागिएको आयोजकको भनाई छ ।
भारतले नेपाली चियालाई गुणस्तरहीन भन्दै पटकपटक निर्यात रोक्दा पनि नेपाली चिया भारतमै बेच्नुपर्ने बाध्यता छ। हालसम्म १५ प्रतिशत अर्थोडक्स चिया नेपालमा खपत हुने गरेको छ भने भारत लगायत अन्य मुलुक जाने गरेको छ।
प्रतिक्रिया