इलाम / शितभण्डार छ तर प्रयोगमा छैन । यो शितभण्डार १३ वर्षअघि इलाम सदरमुकाममा निर्माण सम्पन्न भएको हो । तर प्रयोगविहीन भएपछि इलाम नगरपालिकाले विकल्प खोज्न थालेको छ ।
भारतीय दूतावासको सहयोगमा कूल पाँच करोड ४९ लाख ६७ हजार ६ सय ४६ रुपियाँको लागतमा २०६८ चैतमा शीतभण्डार निर्माण सम्पन्न भएको थियो । शीतभण्डार निर्माण पूर्व सम्भाव्यता अध्ययन नगरिएकाले र एउटै मात्र कोठा ९चेम्बर० निर्माण भएकाले सञ्चालनमा समस्या आएको जानकारहरू बताउँछन् ।
यति लामो समयसम्म शीतभण्डार चलाउन नसकिएपछि यो संरचनामा के गर्दा उपयुक्त होला भन्ने विकल्प खोज्न थालिएको इलाम नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी दाहालले बताइन् । चलाउन नसकेपछि सबैसँग सल्लाह सुझाव माग्न थालेको उनले बताइन् ।
दुई हजार मेट्रिक टन क्षमता भएको शीतभण्डारलाई एक पटक ठेक्कामा लगाइए पनि सञ्चालन हुन नसकेको इलाम नगरपालिका इन्जिनियर दीपक गुरागाईँले बताए । गुरागाईँका अनुसार शीत भण्डारमा जडान गरिएको बिजुलीलाई पाँच वर्षअघिनै काटिएको छ ।
नगरपालिकाले पटक–पटक शीतभण्डार सञ्चालनका लागि पहल गरेको भए पनि सम्भव नभएको बताइएको छ ।
सुन्तला, किवी, आलु, उत्पादक कृषक, हरियो चिया उत्पादक कृषक र चिया सहकारी संस्था, जडिबुट्टी उत्पादक कृषक तथा स्थानीय तरकारी तथा फलफूल व्यवसायीलाई लक्षित गरी शीतभण्डार निर्माण गरिएको थियो ।
प्रतिक्रिया