२० वर्ष भन्दा कम उमेरमा गर्भवती हुनेको सङ्ख्या घट्दै

विहीबार, १३ भदौ २०८१
ताप्लेजुङ / वार्षिक तथ्याङ्क अनुसार ताप्लेजुङमा २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुनेको सङ्ख्या क्रमशः घट्दै गएको छ । गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा आउने सङ्ख्यालाई आधार मानेर हेर्दा आर्थिक वर्ष २०७९।८० को तुलनामा आव २०८०।८१ मा २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुनेको सङ्ख्या घट्दै गएको हो । स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याब टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार आव २०८०।८१ मा २० वर्षभन्दा कम उमेरका २ सय ८२ जनाले गर्भ जाँच गराएका छन् । आव २०७९।८० मा २० वर्षभन्दा कम उमेरका ३ सय ७० जनाले गर्भ जाँच गराएका थिए । यो उमेर समूहका घरमा प्रसूति हुनेको सङ्ख्या भने आव २०७९।८० भन्दा आव २०८०।८१ मा बढी देखिएका छन् ।   दुलालका अनुसार आव २०७९।८० मा २० वर्ष मुनिका २८ जना घरमै प्रसूति भएका थिए । आव २०८०।८१ मा भने ३० जना घरमै प्रसूति भए । सामान्यतया दक्ष प्रसूतिकर्मी,दक्ष स्वास्थ्यकर्मी र अन्य स्वास्थ्यकर्मीबाट प्रसूति गराउँदा स्वास्थ्य जोखिम कम हुन्छ । २०७५ साल भदौ १ गतेबाट लागु भएको मुलुकको देवानी संहिताको परिच्छेद १ मा विवाह सम्बन्धी व्यवस्था उल्लेख छ । प्रचलित कानुनमा विवाह गर्ने उमेर कम्तीमा २० वर्ष हुनुपर्ने उल्लेख छ । २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार