इलाम / लागू औषधबाट बच्ने उपायका बारेमा जिल्ला प्रहरी कार्यालय इलामले जनचेतना जगाइरहेको छ । पछिल्लो समय इलाममा लागू औषधका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय इलामले विद्यार्थी र समुदायमा सचेतना गराउन थालेको हो ।
बालबालिका र युवाहरूलाई लक्षित गरी जिल्लाका विभिन्न विद्यालय र कलेजहरूमा सचेतनाका कार्यक्रम गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालयले सदरमुकाम स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस, आदर्श मावि लगायत जिल्लाका विभिन्न विद्यालयहरूमा लागू औषध विरुद्धको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
इलामका प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले लागू औषधको प्रयोगमा बालबालिका फस्दै गएको बताएका छन् । यसका लागि स्वयम् परिवार र समाजले साथ दिनु पर्ने उनको भनाई छ । उनीहरूलाई कुलतबाट बचाउन कस्तो सचेतता अपनाउनु पर्नेमा जोड दिँदै उनले सचेत रहन सबैलाई आग्रह गरे ।
गएको आर्थिक वर्ष ०८०÷०८१ मा इलाममा पाँच किलो ६७ ग्राम गाँजा बरामद भएको छ भने एक सय ३३ ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ ।
जिल्लामा लागू औषध सम्बन्धी १६ वटा मुद्दा दर्ता भएका छन् भने केही व्यक्ति पक्राउ समेत परेका छन् ।
प्रतिक्रिया