ताप्लेजुङ / शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको फुङलिङ बजार चाडपर्वलाई लक्षित गरी आज देखी देखि खुल्ला गरिने भएको छ ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले आज अर्थात् शुक्रवार देखि कात्तिक १६ गते शुक्रवार सम्म फुङलिङका बजार पसल खुल्ला हुने निर्णय गरेको हो ।
सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालका अनुसार कात्तिक २३ गते शुक्रवार देखि फेरी पूर्ववत् रूपमै फुङलिङ बजार प्रत्येक साताको शुक्रवार बन्द हुने छ ।
दसैँ, तिहार, नेपाल संवत् छैट लगायतका पर्वको अवसर पारेर सेवाग्राहीलाई किनमेलमा सहज होस् भन्ने उद्देश्यले साप्ताहिक रूपमा बन्द हुने बजार पसल चाडपर्व लक्षित खुल्ला गरिएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले मूल्य सूची सबै ग्राहकले अनिवार्य देख्ने गरी राख्न,अखाद्य तथा उपभोग्य मिति गुज्रिएका सामानको बिक्रीबितरण नगर्न, कृत्रिम अभाव सृजना नगर्न, पटका, आकाशबाजी, भुँईचम्पा जस्ता विस्फोटक पदार्थको बिक्री वितरण नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ ।
प्रतिक्रिया