आमा र छोरा हत्याका अभियुक्त सार्वजनिक, यौन सम्पर्क राख्न नमान्दा हत्या गरेको खुल्यो

शुक्रबार, ०४ असोज २०८१
उदयपुर : उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ । वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका छ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो । 'अनुसन्धानपछि बिहीबार मात्रै उनीहरूलाई पक्राउ गरिएको हो,' जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले भने । उपरीक्षक योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए । त्यसपछि उनीहरुबीच विवाद भएको र रिसमा अभियुक्तले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ । आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ । 'प्रारम्भिक अनुसन्धान मात्रै हो आज हामीले ७ दिनको म्याद थपेर थप अनुसन्धान थालेका छौँ,' उपरीक्षक योगीले भने, 'घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको छ ।' प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए । कटारी अस्पत्तालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शङ्का गर्नुभन्दा आवश्यक प्रमाण पुराउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए । निर्मलाले यौन सम्पर्क राख्न नमान्दा विवाद भएपछि सहन नसकेर आमा छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । प्रहरीको अनुसन्धानअनुसार अभियुक्त मगर पहिलेदेखि नै निर्मलाको पसलमा आउने जाने गर्ने गर्थे । घटना हुने दिन राति पनि उनी आएको र साथमा खुकुरी लिएर योजनाबद्ध तरिकाले आएको प्रहरीको भनाइ छ । मगरले निर्मलालाई यौन सम्पर्कको प्रस्ताव राखेको तर प्रतिकार गरेपछि आमा र छोराकै हत्या गरेको प्रहरीले जनाएको छ । मृतक महिलाका श्रीमान् अशोक थापा तीन वर्षअघि नै कान्छी श्रीमती लिएर भारत तिर गएका थिए । अभियुक्त मगरका श्रीमती, एक छोरा र छोरी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार