श्रीअन्तु भुलाउने गुप्तेडाँडा

शनिबार, ०५ असोज २०८१
ताप्लेजुङ / इलामको श्रीअन्तु सूर्योदय र सूर्योस्थको दृश्यावलोकनका लागि प्रसिद्ध मानिन्छ । यस्तै दृश्यावलोकनका लागि ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका– ९ सुकेटारनजिकै रहेको गुप्तेडाँडाको समेत चर्चा चुलिन थालेको छ । यसलाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ । यो डाँडा समुद्र सतहबाट करिब दुई हजार सात सय मिटरको उचाइमा रहेको छ । खास गरी यो सिजनमा सूर्योदयको मनोरम दृश्य हेर्न आसपासका पर्यटक यहाँसम्म पुग्ने गरेका छन् । अन्तु र गुप्तेडाँडा दुवै ठाउँ पुग्ने पर्यटक सूर्योदयको दृश्य अन्तु र यहाँबाट उस्तै देखिने बताउँछन् । यहाँबाट सूर्योदयको अवलोकनसँगै विश्वको अग्लो हिमाल सगरमाथा, विश्वको तेस्रो अग्लो कन्चनजंघा हिमालका साथै मकालु हिमाल तथा अन्य हिमालको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिने भएकाले हिमालको दृश्य र सूर्यको पहिलो झुल्कोसँग फोटो खिच्नेको पछिल्लो समय केही भिड बढ्ने गरेको छ । स्थानीय ज्ञानप्रसाद पोख्रेलका अनुसार घाम झुल्कनुअघि हिमालमा देखिने रंगीन दृश्यले सबैलाई मोहित पार्ने गर्दछ । सूर्योदय हेर्न पछिल्लो समय दैनिक सयौँ पर्यटक इलामको अन्तु पुग्ने गरेका छन् । पर्यटकीय सिजनका वेला त अन्तुमा पाइलासमेत राख्ने ठाउँ हुँदैन, तर अन्तुजस्तै ताप्लेजुङको गुप्तेडाँडामा भने पूर्वाधार र प्रचारप्रसार अभावका कारण निकै कम पर्यटक पुग्ने गरेका छन् । पूर्वको पर्यटकीय जिल्लाको रूपमा रहेको ताप्लेजुङ फुङलिङबजारदेखि नौ किलोमिटरमाथि रहेको गुप्तेडाँडाआसपास होटेल नहुनु, सडकलगायतका पूर्वाधार तथा खानेपानी र प्रचारप्रसार अभावका कारण प्रशस्त सम्भावना हुँदाहुँदै पनि पर्यटक यहाँसम्म पुग्न नसकेको स्थानीय बुद्धिजीवी तथा सामाजिक व्यक्तित्व मनमणि काफ्लेले बताए । यहाँ गुप्तेडाँडासहित सुकेटार विमानस्थल पर्यटकका लागि आकर्षकको केन्द्र रहेको छ । होटेलहरूको व्यवस्था नहुँदा सूर्योदय भएको अवलोकन गर्न जाने पर्यटकहरू आफैँले लगेको चिया–खाजा खाएर फर्किने गर्दछन् । पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्नका लागि सूर्योदय अवलोकन गर्ने स्थानको घेरा बार तथा आवश्यक संरचना निर्माण गर्नका लागि फुङलिङ नगरपालिकाका तत्कालीन मेयर छत्रपति प्याकुरेलको कार्यकालमा ०७७र७८ आर्थिक वर्षमा १० लाख विनियोजन गरेर काम गरेको भनिए पनि अहिलेसम्म फेरि त्यस क्षेत्रलाई बेवास्ता गरिएको छ। अहिलेका फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले सो गुप्तेडाँडालाई सनराइज भ्यू प्वाइन्ट बनाउन डिपिआर गर्न लगाएको र छिट्टै व्यवस्थित गरिने बताए । सो क्षेत्रको विकासमा नगरपालिका लागेको उनको भनाई छ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा पुग्ने पर्यटकको बसाई लोभ्याउन पनि सो डाँडाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार