पत्रकार महासंघको चुनावी रौनक, शर्मा र विष्टले पेस गरे जित्ने आधार

बुधबार, २६ मंसिर २०८१
काठमाडौँ । २८ मङ्सिरमा मतदान हुने नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका लागि चुनावी माहौल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मैदानमा छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवारका रूपमा शर्मा मैदानमा छिन् भने प्रेस सेन्टर, प्रेस युनियनकै असन्तुष्ट पक्षसहित विष्ट चुनावी मैदानमा छन् । विशेष गरी शर्मा र विष्टबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका दुवै उम्मेदवारले आफ्नो जित निश्चित भएको दाबी पेस गरेका छन् । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा अध्यक्षकी उम्मेदवार शर्माले महासङ्घको गरिमा र कुण्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिइन् । शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेसाभित्रको वास्तविकता आफूलाई प्रस्टसँग थाहा भएकाले पत्रकारहरूमा सबै खाले मुद्दाहरूको समाधानमा आफू सक्षम भएको दाबी गरिन् । उनले पत्रकार महासङ्घलाई आजको गौरवपूर्ण अवस्थामा पुर्‍याउन आफूले अथक मेहनत गरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनमा सिपाही रूपमा भूमिका खेलेको पनि बताइन । उनले पत्रकार महासङ्घमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैर राज्यबाट प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुने गरेकोले त्यो बेला आफू पक्राउ समेत परेको बताइन् । उनले भनिन्, ‘म पत्रकार महासङ्घ र मिडियामा विगत ३० वर्षदेखि लगातार आवद्ध छु । मिडियामा श्रम गरिरहेको छु । त्यसै गरी पत्रकार महासङ्घलाई यो ठाउँमा पुर्‍याउनको लागि धेरै योगदान गरेको छु । प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनको सिपाही हुँ । पत्रकार महासङ्घमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैर राज्यबाट प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्दा आफू डटेर लागेको हुँ ।’ साथै उनले पत्रकारिता नै आफ्नो अभियान भएको बताइन् । आफू लोकतन्त्रसङ विश्वास गर्ने र अभिव्यक्ति प्रेस तथा स्वतन्त्रताको पक्षधर सच्चा श्रमजीवी पत्रकार भएको बताइन् । त्यस्तै अध्यक्षका उम्मेदवार विष्टले आफूले लामो समयसम्म महासङ्घमै बसेर काम गरेको अनुभवलाई सदुपयोग गर्न, दलीय सिन्डिकेट तोड्न साथै पत्रकारिता पेसालाई व्यवस्थित गर्नका लागि नीति र कानुनमा परिवर्तन ल्याउन उम्मेदवारी दिएको दाबी गरे । आफू उठ्नका लागि र स्टन्ट गर्नका लागि उम्मेदवार नबनेको बताउँदै विष्टले महासङ्घमा लामो समय भोलेन्टियर भएर काम गरेको मूल्याङ्कन यस पटक हुने उनको भनाइ छ । ‘म कसैको इसारामा अथवा कसैलाई सेवा गर्न जाँदै छैन । त्यसैले मेरो जित सुनिश्चित छ । मैँले अगाडि सारेको एजेन्डा र अहिलेसम्म पाएको प्रतिक्रिया अनुसार राम्रो मतका साथ चुनाव जित्दैछु,’नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उनले भने । नेपालमा प्रेस कानुनहरु नबनिरहेको, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा चुनौती रहेको एवम् परम्परागत र नयाँ डिजिटल मिडियाबिचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्दै पुनर्संरचना आवश्यक भएकाले पनि महासङ्घको नेतृत्व सबल र अनुभवी चाहिने उनले बताए । ‘विशेष गरी महासङ्घभित्रै शुद्धीकरण जरुरी छ । अन्य नीतिगत र कानुनी कुराहरूमा पुन संरचना गर्नुपर्ने आवश्यकता छ । पत्रकारितामाथि धेरै प्रश्नहरू उठेका छन् । बिहानदेखि रातिसम्म कर्म गर्ने तर त्यसको उचित पारिश्रमिक नपाउने एउटा विडम्बनापूर्ण अवस्था पनि छ । यसका लागि अनुभवी र श्रम जीविका मुद्दा बुझ्न सक्ने नेतृत्व आवश्यक छ,’उनले भने । विष्टले पत्रकार महासङ्घले सोचे अनुसार काम गर्न नसकिरहेको गुनासोहरू आइरहेकाले यसका लागि पहिले राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने धारणा राखे । उनले भने,‘राजनीतिक हस्तक्षेप प्रस्ट देखिएको छ । दलीय सिन्डिकेट तोड्नै पर्छ । अहिले पत्रकारिता क्षेत्रमा प्रशस्त प्रश्नहरू उठेका छन् । त्यसैले पत्रकारहरूलाई परेको समस्या र सुरक्षा समस्याहरू करिब छ महिनाभित्र परिवर्तन गराउने मेरो लक्ष्य छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार