हिंसाविरूद्धमा लडिरहेको ‘देवी प्रोजेक्ट’ !

शनिबार, २७ पुस २०८१
इटहरी : यौन हिंसाविरूद्ध सशक्त चित्रण देखाइएको चलचित्र ‘देवी’ विद्यार्थीहरूलाई देखाइन्छ र चलचित्रको प्रतिक्रिया विद्यार्थीहरूबाटै लिइन्छ । चलचित्र हेरेपछि भावुकताका साथै उत्साहमा रहेका विद्यार्थी चलचित्रमा समाजमा भएको हिंसाका विरूद्धमा चेतनामूलक कथा रहेको बताउँछन् । कथामा बलात्कारीको एक पछि अर्को अपरिचित पात्रले हत्या गरेपछि प्रहरीले नै पत्रकारको भूमिका निर्वाह गरिरहेकी पात्र ‘काया’लाई शङ्काको घेरामा राखेको हुन्छ । काया यस्ती पात्र छिन्, जसलाई ‘भिआइपी बलात्कारी’को रिपोर्टिङमा खटाइएको हुन्छ । कथामा पीडकले नै कायासँग प्रेम सम्बन्ध राखेको अवस्था हुन्छ । जसले आफ्नै बहिनीसरहलाई हत्या पछि बलात्कार गरेको हुन्छ । तर, शक्तिको भरथेगमा सबै घटना सामसुम पार्न खोजिन्छ । घटनामा देखिएका भएका सबै पीडकको हत्या गरेकी पत्रकार पात्रले सबै प्रमाण जुटाएर आफ्नै प्रेमी ‘भिआइपी बलात्कारी’लाई हत्या गरिदिन्छिन् । चलचित्रमा अपराधीलाई मार्नु पनि अर्को अपराध हो भन्दै पत्रकार पात्रलाई जन्मकैदको फैसला सुनाइन्छ र चलचित्रको अन्त्य हुन्छ । एक घण्टा ३० मिनेट लामो चलचित्रले बलात्कारविरूद्धको नेपालको कानुन थप कठोर हुनुपर्छ भन्ने आवाज समेत उठान गरेको पाइन्छ । गत तीजमा प्रदर्शनमा आएको चलचित्र ‘देवी’लाई नै विद्यार्थीमार्फत समाजमा चेतना जगाउन ‘अस्तित्व नेपाल’ नामक सामाजिक संस्थाले अमेरिकी दूतावासको सहयोगमा ‘देवी प्रोजेक्ट’ लिएर विभिन्न सहरहरूमा विद्यार्थी र अभिभावकसामु प्रदर्शन गरिरहेका छन् । कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको जनकपुर, बागमतीको काठमाडौँ, लुम्बिनीको बुटवलका साथै कर्णालीको सुर्खेतबाट अस्तित्वले सचेतना गराइरहेको हो । बिहीबार र शुक्रवार इटहरीस्थित एसओएस बालग्रामका विद्यार्थीकाबीच प्रदर्शन गरिएको चलचित्रले विद्यार्थीमा हिंसाविरूद्धमा बोल्न सक्ने ताकत प्रदान गरेको कार्यक्रमकी संयोजक वृन्दा भट्टाचार्यले बताइन् । ‘समाजमा हिंसाका धेरै घटनाहरू भइरहेका हुन्छन्, कतिपय घटानाहरू त नियमित नै भइरहेको अवस्था अझैँ पनि छ,’ उनले भनिन्, ‘त्यसलाई देवी चलचित्रका साथै अमेरिकी दुतावाससँगको सहकार्यमा सचेतका साथ जागरूकता प्रदान गर्नका लागि हामी लागिरहेका छौँ ।’ उनका अनुसार समाजमा हुने हिंसाका विरूद्धमा संस्था विभिन्न कार्यक्रमका साथ लडिरहेको अवस्था रहेको छ । ‘समाजमा महिला मात्रै हिंसामा नपर्ने भएकाले पुरुष पनि हिंसाको सिकार बनिरहेको अवस्था रहेको छ,’ उनले थपिन्, ‘लैङ्गिक समानताकाको कार्यान्वयनका लागि पनि हामीले यस प्रकारका काम गर्दै आइरहेका छौँ ।’ चलचित्रमा सहभागी अभिभावकले विद्यार्थीमा शैद्धान्तिक ज्ञान भन्दा प्रयोगात्मक ज्ञानले नै सिकाइको उपलब्धि हुने बताए । अभिभावक मिनु कार्की भन्छिन्, ‘चलचित्रमार्फत दिएको सिकाइले समाजमा सकारात्मक सन्देश दिन सक्छ ।’ विद्यालयका प्रधानाध्यापक शशीकुमार उपाध्यायले विद्यार्थीलाई प्रयोगात्मक तवरले सिकाइको वातावरण तयार गर्न कार्यक्रमसँग सहकार्य गरिएको बताए । ‘पाठ्यपुस्तकमा आवश्यक प्रयोगात्मक ज्ञानको कमी भएकाले यस्ता कार्यक्रमले मानवीय विकासमा सहयोग पु¥याउने छ,’ उपाध्यायले भने । खासगरी भौतिक विकासले मात्रै विकास पूरा नहुने र भौतिक विकासको संरक्षणका लागि पनि मानवीय विकास महत्पूर्ण रहेको कतिपय जानकारहरू बताउँछन् । मानवीय विकासभित्रै पर्ने पुरुष र नारीलाई अवसर, जिम्मेवारी, अधिकार, सेवा, लाभ, स्रोत–साधनमा समान अवसर पहुँच र नियन्त्रण कायम राख्नु लैङ्गिक समानता हो । नेपालको संविधानको प्रस्तावनामै सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागिता मूलक सिद्धान्तमा जोड दिने प्रतिबद्धता छ । तर, समाजमा यसका विरूद्धमा क्रियाकलाप भइरहेको अवस्था छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने पनि घरेलु हिंसा, बलात्कार र यौन दुव्र्यवहारजस्ता घटनाहरू बढ्दो क्रममा छन् । पछिल्लो एक वर्षमा मात्रै महिलामाथि तीन हजार चार सय ८९ यौन हिंसा भएको छ । लैङ्गिक हिंसाले पीडितहरूको शारीरिक, मानसिक, र भावनात्मक स्वास्थ्यमासमेत नकारात्मक प्रभाव पार्ने र उनीहरूको आत्मसम्मान, विश्वास, र जीवनयापनमा समेत असर पार्ने भएकाले हिंसा लैङ्गिक समानता र हिंसा न्यूनीकरण समुदाय स्तरबाटै प्रभावकारी ढङ्गले लाग्न जरुरी रहेको जानकाहरूको मत छ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार