आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विराटनगरका चिकित्सकले बुझाए ज्ञापनपत्र

विहीबार, ११ बैशाख २०८२

विराटनगर । आवासीय चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विराटनगरका डाक्टरहरुले आज (बिहीबार) जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् । 

अस्पताल विकास समिति कर्मचारी युनियन कोशी अस्पताल इकाईका अध्यक्ष डाक्टर रोशन खड्काको नेतृत्वमा गएको चिकित्सकहरुको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । चिकित्सकको टोली ज्ञापनपत्र बुझाउनलाई र्यालीसहित प्रशासन कार्यालय पुगेको थियो । 

वरिष्ठ फिजिसियनसमेत रहेका डा. खड्काले ज्ञापनपत्र बुझाएर आवासीय चिकित्सकको माग सम्बोधनका लागि दबाब दिइएको बताए । आवासीय चिकित्सकलाई आठौं तहको निर्वाह भत्ता दिनुपर्ने र उनीको ड्युटी समय निर्धारण गर्नुपर्ने मुख्य माग रहेको जानकारी अध्यक्ष खड्काले दिए । 

उनले विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकको मागप्रति पूर्ण समर्थन रहेको तथा आन्दोलनका हरेक चरणमा साथ एवं सहयोग रहने स्पष्ट पारेका छन् । 

सरकारी सरह निर्वाह भत्ता माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । माग पूरा नभए शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चेतावनी चिकित्सकले दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सकहरु बताउँछन् ।

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत माघ २५ गते बसेको आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । 

gyapangfh

निर्णय कार्यान्वयन हुँदा आवासीय चिकित्सकले मासिक ४८ हजार ७ सय पाउँछन् । तर, निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेपछि आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार