धरान : धरान रोजगार मेला विहिबारबाट धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाइस्कुलको खेल मैदानमा सुरु भएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग धरान उपमहानगरपालिकाको आयोजना र धरान उद्योग वाणिज्य सङ्घको संयोजनमा सुरु भएको उक्त मेला भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ ।
युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको धरान रोजगार मेला आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उद्घाटन गरे ।
मेलाले साना–ठूला रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइनुका साथै स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका रोजगारदाता र बेरोजगार युवालाई रोजगारको अवसरमा टेवा पुग्ने मन्त्री राईले विश्वास व्यक्त गरेका छन् ।
मेलाबाट पाँच सय युवाले प्रत्यक्ष रोजगारी पाउने र करिब पाँच हजार युवाले रोजगारीको अवसर, क्यारियर परामर्श, सीपमूलक तालिम र अन्तर्वार्ता जस्ता सेवा प्राप्त गर्न सक्ने विश्वास गरिएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बताए ।
मेलामा प्राविधिक, प्रशासनिक र श्रमिक वर्गका साथै स्थानीय उद्योग, व्यवसाय, तालिम संस्थालगायतका विभिन्न ३१ वटा स्टल राखिएको छ ।
सूचीकृत भएका बेरोजगार जनशक्ति आफ्नो क्षमता, योग्यताअनुसार सम्बन्धित रोजगारदाताको स्टलमा गएर रोजगारी प्राप्त गर्नसक्ने जनाइएको छ ।
प्रतिक्रिया