विराटनगर । नीजि क्षेत्रका अस्पताल आवासीय चिकित्सकलाई सरकारी आठौं तह बराबरको तलब सुविधा दिन नमानेपछि चिकित्सकहरु आन्दोलित भएका छन् ।
चिकित्सकहरुले मोरङका सरकार र नीजि अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै उपचार सेवा बन्द गराएका छन्।
यद्धपी, विराटनगरका दुई ठूला शिक्षण संस्था नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पतालमा ओपीडि सेवा जारी रहेपछि नेपाल चिकित्सक संघ कोशी प्रदेशले छलफल गरेको छ। नेपाल चिकित्सक संघ कोशी प्रदेशका अध्यक्ष डा. राजेश चौधरीले भने, ‘विराटनगरका दुई ठूला अस्पतालले पूर्वजानकारी अनुसार ओपीडीपनि खुला राखेको कुरा सुन्यौ। अहिले हामी अस्पतालमै छौ। हाम्रो माग पुरा नहुञ्जेल आकस्मिक सेवाबाहेकका अन्य सेवालाई बन्द गर्न भनेका छौ ।’
सरकार र नेपाल चिकित्सा आयोगले समेत आवासीय चिकित्सकलाई आठौ तह बराबरको करिब ४८ हजार रुपैया पारिश्रमिक दिनुपर्ने पत्रचार गरेपनि त्यो अनुसरण हुन नसकेपछि आन्दोलनमा उत्रिएको डा. चौधरीले बताए । उनले भने, ‘सरकारले र आयोगले नै अब आवासिय चिकित्सकलाई दिने पारिश्रमिकको विषयमा ४८ हजार रुपैया तोकेको छ । तर, यहाँ अझैपनि १० देखि २० हजार रुपैयामा काम लगाउने कार्य भइरहेको छ। यसमा आपत्ती रहेको छ।’
उनका अनुसार विराटनगरका अन्य नीजि अस्पतालले आकस्मिक सेवाबाहेकका सबै सेवा ठप्प पारेपनि नोबेल र विराटले त्यो गरेको थिएनन् ।
विराटनगरमा करिब ३ जना आवासिय चिकित्सक कार्यरत रहेकाछन् । नेपाल चिकित्सक संघ कोशी प्रदेशले बिहीबार आन्दोलनको पूर्वजानकारी जिल्ला प्रशासन कार्यालय मोरङलगायतमा गराएका थिए ।
यसैबीच, कोशी अस्पताल विराटनगरमा हर्नियाका उपचारका लागि भर्ना भएका विराटनगर ५ का बिहारी ठाकूर समस्यामा परेकाछन् । बिहीबार अत्याधिक पीडा भएपछि अस्पतालमा भर्ना भएका ५२ वर्षीय ठाकूरको चिकित्सकहरुले शुक्रबारबाट उपचार सुरु गर्ने जनाएपछि आन्दोलनका कारण उपचार सेवा पछि धकेलिएको छ ।
ठाकूरका ज्वाई विराटनगर पिपल चौकका ब्रम्हदेव ठाकूरले उपचारका लागि सबै तयारी भइसक्दा आन्दोलनले समस्या गराएको बताए । उनले भने, ‘हिजो बुवालाई अस्पतालमा भर्ना गरायौं । शल्यक्रियाको तयारीका क्रममा औषधी खरिद गर्न पनि लगाए। आजविहानबाट उपचार सुरु गर्ने चिकित्सकले बताउनु भयो । तर, आन्दोलनले रोकियो ।’
अस्पतालमा भर्ना गराँउदा विरामी ठाकूरको उच्च रक्तचाप १४०/११० रहेको बताएका ब्रम्हदेवले भने, ‘अब अहिले चिकित्सकहरुले आउँदो साता आइतबार, मंगबार वा बिहीबार उपचार हुने बताउनु भएको छ । यतिदिन विरामीलाई कसरी राख्नु । उपचार सेवा नपाउँदा हामी मात्र होइन, यहाँ भर्ना भएका अरुपनि समस्यामा छन् ।’
प्रतिक्रिया