इटहरी । जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेशकी संस्थापक संयोजक तथा प्रशिक्षक बालिका भट्टराईले ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग केवल व्यायाम मात्र नभएर जीवनको दर्शन भएको बताएकी छन् ।
योगलाई आत्मा, मन र शरीरलाई एकै सूत्रमा बाँध्ने माध्यमका रूपमा प्रस्तुत गर्दै उनले योगले स्वास्थ्य, शान्ति र समृद्धिको यात्रा तय गर्न सक्ने बताएकी हुन् ।
उनका अनुसार योगले शारीरिक स्वास्थ्य, मानसिक शान्ति, सकारात्मक भावना र चेतनालाई सन्तुलनमा राख्छ । शारीरिक तन्दुरुस्तीका लागि विविध कसरतहरू भए पनि मानसिक सन्तुलनका लागि प्राणायाम अनिवार्य रहेको उनले बताइन् ।
योगले सबैलाई जोड्ने काम गर्छ, जसरी समुन्द्रले सबैलाई समाहित गरिदिन्छ उनले भनिन् । योग भए रोग, दुख र विपन्नता पृथ्वीबाट हराएर जान्छ
११ औ अन्तर्राष्ट्रिय योग दिवसको सबैमा मङ्गलमय शुभकामना दिँदै उनले योगले मानवको सर्वाङ्गीण विकास गर्दै मुक्ति, मोक्ष सम्मको यात्रा तय गर्न सक्ने बताइन् ।
२०१४ मा संयुक्त राष्ट्र सङ्घको मान्यतापछि अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखमा मनाउन थालिएको हो । तत्कालीन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सुरु भएको यस अभियानले विश्व समुदायको ध्यान योगप्रति खिचेको छ । नेपालमा पनि विभिन्न संघसंस्थामार्फत योगप्रति अभिरुचि बढ्दै गएको छ ।
नेपालमा योग मार्फत आरोग्य पर्यटनको सम्भावना रहेको भट्टराईको दाबी छ । उनका अनुसार योग व्यक्ति मात्र होइन, राष्ट्रको समृद्धि र विश्वशान्तिको माध्यमसमेत बन्न सक्छ । हाल विश्वभर आरोग्य पर्यटनले तीव्रता लिइरहेको परिप्रेक्ष्यमा उनले नेपाललाई आरोग्य पर्यटनको गन्तव्य बनाउन नीति निर्माण आवश्यक भएको औँल्याइन् । “२०२५ देखि २०३० भित्र १५ देखि २० करोड मानिस विश्वभर आरोग्य पर्यटनको खोजीमा निस्कने आङ्कलन गरिएको छ,” उनले भनिन्, “नेपालले योग मन्त्रालय स्थापनासहित रणनीतिक योजना बनाउँदै अन्तर्राष्ट्रिय योग केन्द्रको रूपमा आफूलाई स्थापित गर्न सक्छ ।”
कोशी प्रदेशमै आठ लाखभन्दा बढी नागरिक योग ध्यानमा सक्रिय रहेको उल्लेख गर्दै उनले डिजिटल माध्यमले योग अभ्यासको पहुँच बढाइरहेको बताइन् । त्यसैले, योग मार्फत राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्याउन सकिने उनी विश्वास गर्छिन् ।
भट्टराईका अनुसार योगको वास्तविक अर्थ ‘सम्बन्ध’ वा ‘जोड’ हो । शरीर र मनको सम्बन्ध सुदृढ गर्दै स्थिरता ल्याउने प्रक्रिया नै योग हो, उनी भन्छिन्, अशान्त र अस्थिर मन–शरीरलाई सम्हाल्न, आन्तरिक ऊर्जा सक्रिय पार्न योग अपरिहार्य माध्यम हो ।
शिवले योगका ८४ आसन संसारलाई प्रदान गरेको धार्मिक विश्वास उल्लेख गर्दै उनले आजको तनावग्रस्त जीवनशैलीमा योग नै समाधानको प्रभावकारी उपाय भएको बताइन् । विशेषतः मानसिक समस्या, डिप्रेसन र आत्महत्याका घटना बढ्दै गइरहेका अवस्थामा योगले समाजलाई मार्गदर्शन गर्न सक्ने उनको धारणा छ ।
रोग प्रतिरोधका लागि प्रकृतिपूर्ण उपाय
योग गुरु समेत रहेकी भट्टराई भन्छिन्, “योग कुनै रोग लागेपछि गर्ने उपचार होइन, रोग नै नलागोस् भनेर अगावै अभ्यास गरिने संस्कार हो ।”
उनका अनुसार योगले शारीरिक प्रणालीलाई सन्तुलनमा राख्छ, मानसिक बल बढाउँछ र प्रतिरोध क्षमता सुधार गर्छ । आज संसारका झन्डै ३०–३२ प्रतिशत मानिसले योगलाई आफ्नो जीवनशैलीमा समावेश गरिसकेका छन् । उनले गैर सञ्चारी रोगहरूको नियन्त्रणमा योगले निभाउने भूमिका महत्त्वपूर्ण रहेको उनको तर्क छ ।
पाठ्यक्रम र नीतिमा योगको स्थान आवश्यक
सरकारद्वारा योगलाई विद्यालय पाठ्यक्रममा अनिवार्य गर्नु सकारात्मक लिन सकिन्छ ‘‘योगलाई पुनः शिक्षाको मूल धारमा ल्याइनुपर्छ ।’’ उनले विद्यालयदेखि विश्वविद्यालयसम्म योगको अभ्यासलाई संस्कारको रूपमा विकास गर्नुपर्ने र सरकारी प्राथमिकतामा राखिनुपर्ने बताइन् ।
“व्यक्तिगत प्रयास मात्रले यो अभियान सफल हुँदैन,” उनी भन्छिन्, “राज्यले नीतिगत संरचना तयार पारेर योगलाई संस्थागत गरेमा मात्रै समृद्धि र शान्तिको बाटो सुनिश्चित गर्न सकिन्छ ।”
निष्कर्ष योग राष्ट्रको सम्भावना बन्ने दिशामा
भट्टराईको निष्कर्ष छ— योग मानव जीवनका हरेक पक्षसँग जोडिएको छ । स्वास्थ्य, अनुशासन, आत्म बोध, मैत्री भाव र विश्वशान्तिसम्म पुग्ने पुलको रूपमा योगले कार्य गर्दछ । नेपालजस्तो प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाले भरिपूर्ण मुलुकले योगलाई राष्ट्रिय अभियान बनाउँदै आन्तरिक सशक्तीकरण मात्र होइन, आर्थिक समृद्धिको ढोका समेत खोल्न सक्छ ।
अब योग शिक्षाको संस्थागत विकास, नीतिगत प्राथमिकता, जनचेतनाको विस्तार र जीवनशैलीमै योगलाई आत्मसात् गर्ने अभ्यास आवश्यक रहेको उनले बताईन् । किनभने, योग अब केवल व्यक्तिगत स्वास्थ्यको अभ्यास नभई राष्ट्रको सम्भावना बन्ने दिशामा अगाडि बढिरहेको उनको दाबी छ ।
प्रतिक्रिया