भीमज्वाला राई
निरङ्कुश राजतन्त्र रहेको समयमा राजनैतिक अधिकार कुण्ठित भएको समय हाम्रा अग्रजहरूले २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना गरे । त्यो ऐतिहासिक दिनले आजबाट ४६ वर्ष पुरा गरेर ४७ वर्ष टेकेको छ ।
संगठन निर्माण पछि चालकलाई हत्कडी लगाउने प्रथाको अन्त्य र सँगठन गठन गठन गर्न पाउने अधिकार सहितका १३ सूत्रीय माग राखेर संगठनले ७ दिने चक्काजामको घोषणा ग¥यो । आन्दोलन घोषणा लगतै संगठनका अध्यक्ष कमल बुढाथोकी, कोषाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, सदस्यहरू छविलाल लम्साल र रमेश विष्टलाई पञ्चायती सरकारले गिरप्mतार गरेर ३६ दिन विराटनगर कारागारमा बन्दी बनायो ।
दमनले रोकिएन आन्दोलन
संगठन निर्माणको करिब १ वर्ष पुग्दा नपुग्दै २०३७ सालसम्म मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, बागमती, गण्डकी र लुम्बिनी गरी ८ अञ्चलमा संगठन विस्तार भइसकेको थियो । संगठन र नेतृत्व विरुद्ध राज्यको दबाब चौतर्फी बढिरहेको थियो यही क्रममा बागमतीमा तत्कालीन सचिव खगेन्द्र नेपाललाई प्रहरीले गिरफ्तार गरेर यातना दियो, संगठनका दस्ताबेजहरू जफत गरियो ।
पञ्चायती सरकारकै षडयन्त्रका कारण संगठनको पहिलो महाधिवेशनबाट अध्यक्ष भएका हरिनारायण शाही र दोस्रो महाधिवेशनबाट अध्यक्ष भएका जयराज शाक्य पञ्चायती सरकारको कित्तामा समाहित बन्यो । जसका कारण संगठन कमजोर बन्न पुग्यो । करिब ६ वर्ष संगठन शिथिल बन्न पुग्यो ।
जीवन भर्ने त्यो भेला
२०४३ फागुन ३० गते पोखरामा राष्ट्रिय भेला सम्पन्न भयो उक्त भेलामा देशैभरीबाट प्रतिनिधिहरू सहभागी भए । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको उक्त भेलाले पञ्चायती सरकारसंग मिल्न पुगेका दुवै अध्यक्षहरूलाई कारबाही गर्दै चूडामणि जंगलीको संयोजकत्वमा संगठन पुनर्गठन गरिएपछि संगठनले पुनर्जीवन पायो । मुर्झाएको संगठन एकाएक नयाँ उत्साहकासाथ गति लिन थाल्यो ।
देशव्यापी संगठन र आन्दोलन
२०४६ सालमा राजतन्त्र ढलेर प्रजातन्त्र प्राप्तिपछि १४ वटै अञ्चलमा संगठन विस्तार प्रारम्भ भयो । संगठनले २०४८ सालमा २४ सूत्रीय माग पेस गर्दै देशव्यापी हडताल ग¥यो । त्यस्तै २०५३ सालमा समेत चक्काजाम गरेर शक्ति प्रदर्शन ग¥यो । आन्दोलनकै शक्तिले सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ निर्माण गर्न सरकार बाध्य भयो । २०५६ सालमा लाइसेन्स नवीकरण शुल्क वृद्धि, यातायात श्रमिकहरूमाथि प्रशासनिक हैरानी, विभिन्न नाममा हुने शोषण र सास्ती विरुद्धको आन्दोलन र जनयुद्धका समय दोहोरो मारमा परेका मजदुरहरूलाई बचाउन संगठनले गरेको काम र रचनात्मक भूमिका अतुलनीय छ ।
२०६२ ÷०६३ को १९ दिने दोस्रो जन आन्दोलनमा यातायात मजदुर प्रद्युन्न खड्का, अनिल तामाङ लगायतको बलिदानी यातायात मजदुरहरूले देशका लागि गरेको त्यागको उदाहरण हुन् । त्यस्तै लाइसेन्स लिन एसएलसी पास गर्नुपर्ने नीति विरुद्ध सङ्घर्ष, लाइसेन्स निलम्बन र जरिवाना रकम वृद्धि विरुद्धको आन्दोलन आफैमा गर्व गर्न लायक छन् ।
अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटिएफ) सँगको सम्बन्धलाई बलियो बनाउँदै विश्व मञ्चमा नेपाली यातायात श्रमिकहरूका एजेण्डालाई स्थापित गर्ने काम, लकडाउनका समय देशभरिका मजदुर परिवारलाई सहयोग, सवारीसाधनमा उमेर हद विरुद्ध संगठनले गरेको आन्दोलन आफैमा ऐतिहासिक छ ।
नीतिगत हस्तक्षेपका लागि सङ्घर्ष
अबको सार्वजनिक यातायातलाई व्यवस्थित गर्दै श्रमिकहरूको सुरक्षा, यात्रुहरूको गुणस्तरीय सेवा र लगानीको संरक्षण गर्न सक्दैन । त्यसका लागि हाम्रो संगठनले निर्माण गरेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई समयसापेक्ष संसाधन गर्नु जरुरी थियो । यातायात नीतिलाई परिमार्जन गर्नु थियो र सडक सुरक्षा ऐन निर्माण गर्नु अत्यावश्यक थियो ।
हामीले धेरै लामो समयदेखि यो कुरा सरकारलाई लिखित रूपमा र मौखिक रूपमा भन्दै आइरहेका थियौँ । सरकारले चासो नराखेपछि सरोकारवालाहरुसंगको सहकार्यमा सरकारलाई अन्तिम ध्यानाकर्षण गराउँदै जेठ १९ गतेदेखि देशव्यापी हड्ताल गरेका छौँ । परिणामस्वरूप सरकारसंग ६ बुँदे सहमति भएको छ । हामी सहमति कार्यान्वयनकै चरणमा छौँ र कार्यदल मार्फत हाम्रा माग र मुद्धाहरुलाई नीतिगत बहसमा केन्द्रित छौँ । हामी समयसापेक्ष सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने चरणमा छौँ ।
असार ९ र योद्धाहरूको सम्झना
२०३६ साल असार ९ गते पानीपीया जङ्गलको एउटा सिमलमुनि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना गर्दा अध्यक्ष, कमल बुढाथोकी, उपाध्यक्ष, गेल्बु लामा, सचिव, लेखनाथ पराजुली, सह सचिव, ओमप्रकाश शर्मा, कोषाध्यक्ष, चन्द्रबहादुर श्रेष्ठ, सदस्यहरू, छविलाल लम्साल, रमेश विष्ट, युगेश्वर साह, दुर्गा मानन्धर, गंगाराम शर्मा ढकाल, मदन किशोर शर्मा, दिनेश खड्का, सिंहबहादुर भुजेल, दुर्गा आचार्य, वीरेन्द्र प्रधानांङ्ग, नत्थुनी चौधरी हुनुहुन्थ्यो वहाँहरूप्रति उच्च सम्मान छ ।
अहिलेसम्मका महाधिवेशन र नेतृत्व :
प्रथम अधिवेशन २०३६ साल साउन २३ र २४ गते हेटौँडा : अध्यक्ष, हरिनारायण शाही
दोस्रो अधिवेशन २०३७ साल भाद्र २१ र २२ गते राजविराज : अध्यक्ष जयराज शाक्य
तेस्रो राष्ट्रिय सम्मेलन तयारी समिति : २०४३ फागुन ३० गते पोखरा : अध्यक्ष, चूडामणि जंगली
तेस्रो राष्ट्रिय अधिवेशन आयोजक समिति : २०४७ असार १४ गते, अध्यक्ष चूडामणि जंगली
तेस्रो राष्ट्रिय अधिवेशन, २०४७ मङ्सिर २२–२४ पोखरा अध्यक्ष, चूडामणि जंगली
चौथो राष्ट्रिय अधिवेशन, २०५१ फागुन १८–२० बुटवल, अध्यक्ष, उद्धव केसी
पाचौं राष्ट्रिय अधिवेशन २०५५ फागुन ७–९, हेटौँडा, अध्यक्ष, उद्धव केसी
छैंठौं राष्ट्रिय अधिवेशन २०५९ चैत्र ८–१० खरीपाटी भक्तपुर अध्यक्ष उद्धव केसी
सातौँ राष्ट्रिय अधिवेशन २०६३ चैत्र १५–१७ काठमाण्डौं अध्यक्ष, मोतीराज सुनुवार
आठौँ राष्ट्रिय अधिवेशन २०६६ चैत्र २९–३० काठमाण्डौँ अध्यक्ष, राजीव घिमिरे
नवौँ राष्ट्रिय अधिवेशन २०७० पुस २२–२४ काठमाण्डौँ अध्यक्ष, राजीव घिमिरे
दशौंं राष्ट्रिय महाधिवेशन २०७४ भाद्र १७–१९ चितवन अध्यक्ष, भीमज्वाला राई
एघारौँ राष्ट्रिय महाधिवेशन २०७८ पुस ८–१० बुटवल अध्यक्ष भीमज्वाला राई
बाँकी कार्यभारहरू
अन्त्यमा :
श्रमिकहरूको पेसागत हक, हित र अधिकारको आवरणमा निर्माण भएको यस संगठनको मूल ध्येय जनताको राजनीतिक चेतनाको अभिवृद्धि र रूपान्तरण पनि हो । सारमा यो संगठन, यातायात श्रमिकहरूको मात्र होइन देशका सबै जनताको साझा संगठन हो । देशका हरेक परिवर्तनमा संगठनले योगदान गरेको छ । ४६ औँ स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना ।
लेखक राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष हुन् ।
प्रतिक्रिया