त्यो साउन १, कमरेड तारा सुब्बालाई सम्झिँदा

विहीबार, ०१ साउन २०८२

गणतन्त्रपछि २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा असार २६ गते राती १० बजेर ५० मिनटमा तारा सुब्बा धरानको मेयर भएको परिणाम घोषणा गरिएको थियो । मेयर घोषणा भएको ३ सय ७२ दिन २०७५ साउन १ गते काठमाण्डौंको ग्राण्डी अस्पतालका चिकित्सकहरूले उनै तारा सुब्बालाई मृत घोषणा गरिदिए ।

विकास प्रेमी नेताका रूपमा धराने जनताले माया र विश्वास गरेका तारा सुब्बालाई प्रतिद्वन्द्वी भन्दा ४ हजार ८ सय ५५ बढी अर्थात् २० हजार ९ सय ७५ लोकप्रिय मत दिएर विजयी गरेका थिए । फूल माला, अबिर र नारा सहित बधाई दिएर मेयरको कुर्सीमा स्वागत गरेका धराने जनताले एक वर्षपछि उसै गरी फूल माला लिएरै सडकमा लामबद्ध भएर आफ्ना प्रीय नेतालाई बिदाइ गरेका थिए ।

अधुरै छन्, सपनाहरू  

२०७४ असार ११ र १२ गते धरानको नगर सभा थियो । मेयरको दौडधुप हुने नै भयो, जेठ अन्तिम साता देखिनै मेयर सुब्बा अस्वस्थ थिए । पहिले नै मिर्गौला प्रत्यारोपण गराएका मेयर सुब्बाले आफ्नो स्वास्थ्य भन्दा नगर सभालाई प्राथमिकतामा दिए । स्वास्थ्य अवस्थाको वास्ता नगरी काम र तनावमा परेका मेयर अहोरात्र तयारीमा जुटे । 

tara subba 2

नगर सभा सम्पन्न गरेर असार १४ गते राजधानी पुग्दा उपचारमा निकै ढिलाइ भइसकेको थियो । धरानको विकास र समृद्धिका लागि एक वर्षको योजना बनाएर उपचार गर्न काठमाण्डौं गए पनि उनी कहिल्यै नफर्किने गरी बिदा भए ।   

भौतिक पूर्वाधार, खानेपानी, पर्यटन, सांस्कृतिक सम्पदाहरूको संरक्षण, सकुम्बासीहरुको व्यवस्थापन र राहत, शिक्षा र स्वास्थ्य, केबलकार सञ्चालन र स्मार्ट सिटी सहितको आधुनिक धरान निर्माण गर्ने वहाँका योजनाहरूलाई अलपत्र छाडेर तारा सदाका लागि बिदा भए । जुन सपना र योजनाहरू अझैसम्म अधुरै रहेका छन् ।

महान् बिदाइ 

साउन १ गते मेयरको शवलाई हेलिकप्टर मार्फत ग्राण्डीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । २ गते बिहान ७ बजेदेखि साढे ९ बजेसम्म धरान १७ स्थित निवासमा राखियो । प्रायः उनले लगाउने सर्ट, पाइन्ट, कोट, चस्मा र ढाका टोपी र टाईमा राखिएको थियो । जहाँ आफन्त, इष्टमित्र तथा स्थानीय पार्टीका नेता कार्यकर्ताहरूले पुष्प गुच्छा अर्पण गरेका थिए । 

बिहान १० बजे धरान उपमहानगरपालिका प्राङ्गणमा राखिएको थियो जहाँ नगरपालिकाका कर्मचारी, २० वटै वडाका जनप्रतिनिधिहरूले श्रद्धाञ्जली अर्पण गरे । नगरपालिकाका सुरक्षाकर्मीहरूले राष्ट्रिय धुन सहित अन्तिम सलामी दिए । 

बिहान ११ बजे धरान १२ स्थित पब्लिक उच्च माविको प्राङ्गणमा राखिएको थियो । जहाँ उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झन्डा ओढाएका थिए भने, कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले श्रद्धा अर्पण गरे । मन्त्रीहरू, सांसदहरू, पार्टी तथा जनसङ्गठनका नेताहरू पुष्प गुच्छा चढाएका थिए । 

देशभरिबाट आएका पालिकाका प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिहरू र हजारौँको सङ्ख्यामा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए । २ बजे धरान नगर परिक्रमा गराएर धरान १९ स्थित हरियाली सामुदायिक बनमा अन्त्येष्टि गरिएको थियो । धरान शोकमा डुब्यो । सुब्बाको महाप्रस्थान भएको सात वर्ष बितिसकेको छ वहाँका काम गर्ने शैली, कौशलता, क्षमता र प्रभावको अहिले पनि उतिकै अभाव भइरहेको छ । 

जीवनको उकाली ओराली 

tara subba 1

तेह्रथुमको खाम्लालुङ ८ स्थित एक किसान परिवारमा जन्मिएका थिए सुब्बा । बुबा उजिरसिंह हुक्पा चोङ्बाङ र आमा फूलमाया हुक्पा चोङ्बाङका ४ छोरा र ३ छोरीमध्ये कान्छा छोराको रूपमा उनले धर्तीमा पाइला टेकेका हुन् । जीवनको अनेकौँ उतारचढाव र सङ्घर्षका खुटकिलाहरु पार गरेर मात्रै वहाँ चम्किलो तारा बने । २०४४ सालमा ईन्दु राईसँग वैवाहिक जीवनमा बाँधिएका सुब्बा दम्पतीका छोरा जुगल लिम्बू छन् । 

समापन्नशाली पारिवारिक पृष्ठभूमिले उनको राजनैतिक जीवनलाई ठुलो साथ र सहयोगले चम्किलो तारा बनाएको हो । राजनीतिक वृत्तमा एक निष्ठावान्, बोल्ड निर्णय लिन सक्ने, प्रस्ट वक्ता र कुशल नेताको रूपमा पहिचान बनाएको हो । 
 
२०३७ सालमा अनेरास्ववियुको सदस्य बनेपछि राजनीतिमा होमिएका सुब्बा २०४७ सालमा  आइपुग्दा युवा संघको नेताका रूपमा स्थापित भइसकेका थिए । धरान नगर कमिटी अध्यक्ष, सुनसरी जिल्ला संयोजक हुँदै दुई पटक जिल्ला अध्यक्ष, दुई पटक केन्द्रीय सदस्य भएका सुब्बा सचिव हुँदै तीन कार्यकाल अध्यक्ष बनेर धरान उपमहानगरलाई कुशलतापूर्वक नेतृत्व प्रदान गरेका पात्रका रूपमा हेरिन्छन् । 

२०५१ सालमा नेकपा एमालेको सरकारमा खेलकुद विकास समिति सुनसरीको सचिव, २०५४ सालको स्थानीय निर्वाचनमा धरान १७ बाट वडा सदस्य निर्वाचित हुँदै जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट जिविस सदस्य समेत भए ।  

उमेर राजनीतिक चेत

सुब्बाले ३ कक्षासम्म खाम्लालुङको कालिका प्राविमा अध्ययन गरे । त्यसपछि भने झापाको गोलधापमा कक्षा ४ अध्ययन गर्न झरे । पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलन चलिरहेको थियो । १३ वर्षकै उमेरमा पनि अन्य विद्यार्थीहरूसँगै जुलुसमा सहभागी  भए । 

अध्ययनको सिलसिलामा उनी २०३७ सालमा धरान आएका हुन् ।  शिक्षा निकेतन माविमा भर्ना भएर अध्ययन थालेका उनी २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । मावि तहमा शुल्क अत्यधिक वृद्धि भएपछि त्यसको विरुद्धमा विद्यार्थीहरूले आन्दोलन गरेका थिए । त्यस आन्दोलनमा सुब्बा पनि सहभागी भए । 

त्यस बेला नै उनी अनेरास्ववियुको सदस्य हुँदै नगर कमिटी सदस्य बने । अध्ययनको लागि धरान आएका सुब्बाले धरानलाई आफ्नो कर्मथलो मात्र बनाएनन् मेयर नै बनेका हुन् । 

tara subba 3

पारदर्शिता 

नेता भ्रष्ट हुन्छन् भन्ने धारणा जनतामा छ तर सुब्बा धरानमा पारदर्शी नेताका रूपमा चिनिएका पात्र हुन् । लामो समय पार्टी प्रमुख भएर, जनप्रतिनिधि भएर कामको अनुभव भएका सुब्बालाई आर्थिक अपचलन र अनियमिततामा कसैले औँल्याउन सकेनन् । बरु फरक विचारकाले पनि साथ दिए तर कसैले कुरा काट्न पाएनन् । 

सपना र पक्षधरता 

धरानलाई जनसहभागिताको नमुना सहर भनेर नेपालमै चिनाउने काम नेकपा ९एमाले० ले गरेको हो । सफा र विकासमा जनसहभागिता रहेको धरानलाई व्यवस्थित बनाउन सुकुम्बासीहरुलाई घर नम्बर दिने योजना मेयर तारा सुब्बाकै थियो । मेयर निर्वाचित भए लगतै तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माण, खानेपानीको दीर्घकालीन समाधानका लागि काम थालिसकेका थिए । 

धरानलाई स्मार्ट सिटी बनाउने, धरानका चारवटै प्रवेशद्वारमा सांस्कृतिक पहिचान सहितको प्रवेशद्वार बनाउने, शान्तिस्तुपा निर्माण गर्ने, सुकम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने, केबलकार सञ्चालन गर्ने, नगर विकास लगानी बोर्ड निर्माण गर्ने सपना सुब्बाको थियो । शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष योजना थियो । 

धरान, एमालेको योगदान र भविष्य

धरानलाई जनसहभागिताको नमुना सहर भनेर नेपालमै चिनाउने काम नेकपा एमालेले गरेको हो । धरानमा २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा जित हासिल गरेपछि लिएको नीति र कार्यक्रमले नै आधुनिक धरानको जग बसालेको हो । एमालेको नेतृत्वमा नगरपालिकाले ६०-४० को जनसहभागिताको नीति लियो, र मृत सहरबाट समृद्ध सहरको बाटोमा डोर्यायो । 

एमाले नेतृत्वकै मनोज मेयाङ्बो मेयर भएको समयमा धरानमा घण्टाघर बन्यो । भानु चौकको बसपार्कको विकल्प तीनकुने सुन्दर बस्ती विकास आयोजना धरान ८ मा बन्यो । एमालेकै नेतृत्वमा खानेपानीको दीर्घकालीन समाधानको लागि समिति नै बनाएर अध्ययन गरेको थियो र हालको परियोजना ल्याउन पनि निर्णायक भूमिका खेल्यो । 

धरानलाई कस्तो बनाउने रु दीर्घकालीन भिजन जरुरी छ त्यसका लागि नेकपा (एमाले) को अभाव हुन्छ । यति बेला धरानले भोगिरहेको दुर्दशाको कारण तारा सुब्बा जस्ता जनप्रिय नेताको असामयिक अवसान नै हो । यो समय जति जति धरान बेशरम नाङ्गिइरहन्छ त्यति त्यति धराने जनताले प्रिय नेता तारा सुब्बा सम्झिरहन्छन् । 

लेखक राई नेकपा (एमाले) कोशी प्रदेश सदस्य हुन् ।
 

 

प्रतिक्रिया

भीमज्वाला राई
लेखकको बारेमा
भीमज्वाला राई

सम्बन्धित समाचार