गणेश गुरागाईं
ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र भनेको जात हैन, यो समग्र मानव समुदायलाई सहज र सरल तरिकाले सञ्चालन गर्नको लागि सजिलो होस भनेर मानव कार्यका आधारमा विभाजन गरिएको व्यवस्था मात्र हो ।
यही आधारमा प्राचीन अवस्थादेखि वर्तमानको आधुनिक समाज समेत सञ्चालन भएको छ । आध्यात्मिक हिसाबले मानव समाजको विकासको इतिहासलाई हेर्ने हो भने हाल हामीले अध्ययन गर्ने गरेका आध्यात्मिक ग्रन्थहरु जसलाई श्रुति, स्मृति र ऐतिहासिक ग्रन्थ (वेद उपनिषद श्रुति ग्रन्थ, पुराण स्मृति ग्रन्थ र महाभारत तथा रामायण ऐतिहाँसिक ग्रन्थ) का रुपमा जानिन्छ । यिनै ग्रन्थहरुमा उल्लेख भएका विषयका आधारमा मानव समाजको विकास सत्य, त्रेता, द्वापर र कलियुगसम्म कसरी हुँदै आएको छ भन्ने जानकारी पाउन सकिन्छ ।
श्रीमद्भागवत महापुराणको स्कन्ध ११ अध्याय १७ को श्लोक ९ देखि श्लोक ५८ सम्म वर्ण व्यवस्थाका सम्वन्धमा उत्कृष्ट व्याख्या भएको छ । यहाँ वर्ण व्यवस्थाको उत्पत्ति, यिनिहरुको स्वभाव, कर्म र कर्तव्य तथा भोग्नु पर्ने नियतिका विषयमा विस्तृत व्याख्या गर्दै यस युगमा वर्ण व्यवस्था नै नभएको, यस युगमा एउटै वर्णका मानिसहरु मात्र भएको र सो वर्णलाई हंस वर्ण भनिने विषय उल्लेख भएको छ ।
साथै सो युगमा सवै मानिसहरु सत्मार्ग र ज्ञान ध्यानले ओतप्रोत भएकोले सम्पूर्ण मानव समुदाय नै कृत्य कृत्य भएको, सवैसँग प्रेमभाव वाहेक केही पनि नहुने भएकाले त्यहा सवैको कल्याण, मोक्ष र मुक्ति वाहेकका कुनै पनि विषयले प्रश्रय नपाउने विषयहरु उल्लेख भएका छन् ।
सत्ययुगमा समाज विकासको पूर्ण, श्रेष्ठतम र आदर्श अवस्था हुनाले यहाँ शासक, शासन र शासित विचको भेद नहुनु, जाति, वर्ण र आश्रमहरुको विभाजन नहुनु, भौतिक पदार्थहरु प्रतिको आशक्ति, ममता शून्य, शास्त्रीय विधि निषेधको अवस्था पनि नरहनु, पूर्णतः तत्व चिन्तनशील स्वशासित समाजको अवस्था हुनु नै सो युगमा विना वर्णव्यवस्था समाज सञ्चालन हुन सम्भव भएको हो ।
त्यस युगको अर्को विशेषता भनेको त्यहाँ तत्वचिन्तनशील समुदाय मात्र हुनु, समाज संगठित ईकाईको रुपमा भन्दा पनि त्यहाँ मननशील र चिन्तनशील व्यक्तिहरुको सामूहिक उपस्थिति हुनु, सो समयमा पृथ्वीमा न राज्यको भेद हुनु, न त राजाहरु नै हुनु, न दण्ड हुनु, न त दण्डता नै ।
सवै व्यक्तिहरु धर्मद्वारा नै परस्परमा संरक्षित हुन्थे । यी त भए सत्ययुगमा वर्ण व्यवस्था नभएका सम्वन्धमा प्रमाणित गर्ने विषयहरु । अब हेरौ वर्ण व्यवस्था कहिले देखि र किन आवश्यक भयो त भन्ने विषयका सम्वन्धमा ।
उल्ेखित ग्रन्थहरुको अध्ययनबाट सत्ययुगपछि लगत्तै आउने त्रेता युगमा वर्ण व्यवस्था शुरु भएको विषयमा जानकारी पाइन्छ । सत्ययुगमा वर्ण व्यवस्थाको आवश्यकता नहुनु तर तुरुन्तै पछि शुरु भएको त्रेतायुग, जहाँ राज्यप्रशासन र दण्ड व्यवस्थाको अनिवार्य उपस्थिति थियो, जुन युगमा मर्यादापुरुष भगवान रामचन्द्रको शासन व्यवस्था थियो र पनि किन वर्ण व्यवस्थाको आवश्यकता भयो त ?
यस विषयतर्फ हेर्ने हो भने सत्ययुगपछि मानिसका आवश्यकताहरु वढ्दै गए, समाजले जटिल रुप लिदै गयो, एकै व्यक्तिको रेखदेख र संरक्षणत्वमा समाज सञ्चालन हुन कठिन हुँदै गए, व्यक्ति, समुदाय र राज्य नै स्वार्थयुक्त भावनाले चल्न थालेका कारण नै पछिल्ला युगमा वर्ण व्यवस्थाको आवश्यकता भएको विषय प्रमाणित हुन्छ ।
यिनै विषयहरुवाट वर्ण व्यवस्थाको आवश्यकता भई सो समयमा गरिएको वर्ण व्यवस्थालाई हेर्ने हो भने श्रीमद्भागवत महापुराणको सक्कन्ध ११ अध्याय १७ को श्लोक १३ मा वर्ण व्यवस्थाका सम्वन्धमा–
“विप्रक्षत्रियविट्शुद्रा मुखबाहूरुपादजाः ।वैराजात् पुरुषाज्जाता य आत्माचारलक्षणाः ।।”
भनी उल्लेख भएको छ । यसको अर्थ हुन्छ, “विराट पुरुष भगवानका मुख, हात, तिघ्रा र पाउवाट क्रमशः ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र वर्णको उत्पत्ति भएको हो । यसरी नै वेदमा पनि–
“ब्राह्मणोस्यमुखमासीद्बाहूराजन्न्यकृत । ऊरूतदस्ययद्वैश्य पद्भ्या शूद्रोक्अजायत ।।”
भनी उल्लेख भएको छ । यसको अर्थ हुञ्छ, “मुखको कार्यका आधारमा ब्राह्मण वर्ण, हातको कार्यका आधारमा क्षेत्रीय वर्ण, पेटको कार्यका आधारमा वैश्य वर्ण र शरीरको तल्लो भागका कार्यका आधारमा शुद्र वर्णको निर्माण भएको हो ।”
यी दुवै अर्थवाट के प्रमाणित हुन्छ भने सो समयमा गरिएको वर्ण व्यवस्था कुनै जात, थर, वर्ग, धर्म र सम्प्रदायका आधारमा गरिएको हैन । एकै व्यक्तिको शरीरका कार्य विशेषताका आधारमा गरिएका हुन् । उपरोक्त वर्ण व्यवस्था त्रेता युगीन भएकोले द्वापर युगीन वर्ण व्यवस्था कस्तो थियो त भन्ने तथ्यलाई हेर्दा यस युगमा पनि त्रेता युगीन वर्ण व्यवस्थाले नै निरन्तरता पाएको देखिन्छ ।
अब हेरौं हालको कलियुगको वर्ण व्यवस्था । जुन युगलाई भौतिक विज्ञानको विकासले उन्नतिको शिखरमा पुगेको भनि वैज्ञानिक तथ्यहरुवाट प्रमाणित गर्ने प्रयासहरु भैरहेका छन् र भौतिक विज्ञानलाई मात्र आधार मान्ने हो भने यथार्थता पनि त्यही हो । यही विकासको परिणाम स्वरुप वर्तमान युग यति जटिल वन्दै गयो कि यहाँ राज्यप्रशासन यन्त्र सञ्चालन गर्न निश्चित व्यक्ति वा समुदायवाट असम्भव भयो ।
मानिसका आवश्यकता र चाहनाहरु असीमित वन्दै गए । यही कारण नै राज्यसत्ता सञ्चालनको जिम्मेवारीमा वसेका व्यक्तिहरु कसरी राज्यलाई मर्यादित रुपमा सञ्चालन गरी आम जनतालाई सुख र शान्ति प्रदान गर्ने भन्ने विषयमा चिन्तित भई देशमा रहेका आम जनताहरुको के काम गर्न सक्षम छ उसलाई सोही अनुसारको जिम्मेवारी दिने भन्ने निष्कर्षमा पुगे ।
यही निष्कर्षका आधारमा उनीहरुले सवैको योग्यता र क्षमताअनुसार कार्य विभाजन गरि राज्यप्रशासन सञ्चालन गर्न लागे, जसको परिणाम उन्नत स्तरको आयो र यो व्यवस्था लामो अवधि सम्म रह्यो ।
तर कालान्तरमा यस व्यवस्थाले समाजमा शासक र शासित वर्गको उदय भयो । उपल्ला स्तरले तल्ला स्तरका जनतालाई हेप्ने र थिचोमिचो गर्ने प्रवृत्तिको विकास भयो र जसले जे कार्य गरिरहेको छ उसको जात नै सोहीवमोजिम कायम गर्न थालियो ।
उच्च स्तरको कार्य गर्ने सम्प्रदायको जात पनि उच्चनै भयो र निम्न स्तरको कार्य गर्ने सम्प्रदायको जात पनि निम्ननै कायम भयो । एक समयमा राम्रो उद्देश्यका साथ कार्यान्वयनमा ल्याइएको व्यवस्था अर्को समयमा विकृतिको रुपमा विकास भइ समाजमा माथिल्लो जात र तल्लो जातको सृजना भई छुवाछुत जस्ता सामाजिक विभेदपूर्ण परम्पराहरु चल्दै गए जो अद्यापी सामाजिक विकृतिको रुपमा छन् ।
तर समुचित तवरले राज्यप्रशासन सञ्चालन गर्नको लागि गरिएको व्यवस्थालाई गलत व्याख्या गरी विकृत परम्परा र व्यवस्था गर्नु सर्वथा निन्दनीय कार्य हो । त्रेता युगदेखि चलिआएको वर्ण व्यवस्थाको उद्देश्य, हालको सोचअनुसार सञ्चालन भइरहेको वर्ण व्यवस्था पनि हैन ।
उपरोक्त विश्लेषणवाट के निश्कर्षमा पुग्न सकिञ्छ भने सत्य, त्रेता, द्वापर युगमा कायम रहेको वर्ण व्यवस्था, वेद वाक्यद्वारा निर्धारण गरिएको वर्ण व्यवस्था आदिलाई हेर्दा एउटै व्यक्तिमा पनि यी चारवटै वर्णहरु पाउँन सकिञ्छ ।
केवल कसको ज्ञान, ध्यान, सीप, कर्म आदि कस्तो प्रकारको छ वर्ण विभाजन पनि सोहीको आधारमा हुन्छ र अन्तेमति पनि सोही वमोजिम हुने कुरा निश्चित छ । यसर्थ वर्ण व्यवस्थाको सम्वन्धमा देहायका विषय वुझ्न जरुरी छ र यथार्थतामा हुनुपर्ने वर्ण व्यवस्था पनि यही नै हो ।
क) धर्म, अर्थ, कर्म र मोक्षका आधारमा वर्ण विभाजन ।
१. जसले धर्म, अर्थ, कर्म र मोक्षको विषयमा केही बुझेको छैन त्यो शुद्र ।
२. जसले धर्म र अर्थ वुझ्यो त्यो वैश्य ।
३. जसले धर्म, अर्थ र कर्म वुझ्यो त्यो क्षत्रीय ।
४. जसले धर्म, अर्थ, कर्म र मोक्ष सवैलाई वुझ्यो त्यो ब्राह्मण ।
ख) जन्म र बृद्धिका आधारमा वर्ण विभाजन
१. जन्मदा शुद्र ।
२. जब आफ्नो लागि केही गर्न थाल्यो वैश्य ।
३. जब आफ्नो लागि र अरुका लागि पनि केही गर्न थाल्यो त्यो क्षत्रीय ।
४. जसले पूर्णतामा पुगी मोक्षलाई समेत बुझ्यो त्यो ब्राह्मण ।
ग) लक्ष वा उद्देश्यका आधारमा वर्ण विभाजन
१. जस्को कुनै लक्ष छैन त्यो शुद्र ।
२. जसले लक्ष निर्धारण गर्न जान्यो त्यो वैश्य ।
३. जसले लक्ष र कर्ममा पूर्णता पायो त्यो क्षत्रिय ।
४. जसले लक्ष र कर्ममा पूर्णता पाई मोक्षलाई समेत वुझ्यो त्यो ब्राह्मण ।
घ) ध्यानका आधारमा वर्ण विभाजन
१. जसलाई ध्यानका विषयमा केही थाहा छैन त्यो शुद्र ।
२. जसले ध्यान शुरु गर्यो त्यो वैश्य ।
३. जसले ध्यानलाई धेरै वढायो त्यो क्षत्रिय ।
४. जसले ध्यानवाट पूर्णता भई मोक्ष समेत थाहा पायो त्यो ब्राह्मण ।
ङ) ज्ञानका आधारमा वर्ण विभाजन
१. जसलाई ज्ञानका विषयमा केही थाहा छैन त्यो शुद्र ।
२. जसले ज्ञानलाई बुझी सोही वमोजिम कर्म गर्यो त्यो वैश्य ।
३. जसले ज्ञानलाई बुझी सोही वमोजिमको कर्मवाट पूर्णता पायो त्यो
क्षत्रीय ।
४. जसले ज्ञानलाई वुझि सोही वमोजिमको कर्मवाट पूर्णता पाई मोक्षलाई
पनि थाहा पायो त्यो ब्राह्मण ।
यसरी नै विद्या, परोपकार, गुण, कर्म, भोजन आदिका आधारमा पनि वर्ण व्यवस्थाको भेदका विषयमा जान्न, बुझ्न र थाहा पाउन सकिन्छ ।
अन्तमा,
जसले आफ्नो कर्मलाई सुधार्दै लगि मोक्षको वाटो थाहा पाउँछ त्यो व्यक्ति शुरुमा शुद्र वर्णमा रहेको भए पनि अन्तमा ब्राह्मण वर्णमा परिणत हुन सक्दछ भने जसले आफ्नो कर्मलाई दिन परदिन बिगार्दै लान्छ त्यो व्यक्ति शुरुमा ब्राह्मण वर्णमा रहेको भए पनि अन्तमा शुद्र वर्णमा परिणत हुन्छ । यसर्थ आफ्नो कर्मलाई आजबाटै सुधार गरौं ।
।। हरि ॐ ।।
प्रतिक्रिया