काठमाडौँ : हिन्दुहरूको महान् पर्व बडादसैँको मुख्य दिन आज (बिहीबार) साइतको टीका सकिएसँगै काठमाडौँका सडकमा मानिसहरूको चहलपहल देखिन थालेको छ।
काठमाडौँ उपत्यकासँगै नजिकका जिल्लाबाट काठमाडौँ फर्किने र टीका तथा आशीर्वाद लिन हिँडडुल गर्ने मानिसहरूको चाप बढेको छ। तीन दिनयता सुनसान देखिएका काठमाडौँका सडकमा पुनः भीड देखिन थालेको हो।
सडकहरूमा सवारी साधनको चाप बढेको छ भने हिँडडुल गर्ने मानिसहरूको सङ्ख्या पनि बढ्दै गएको छ। विशेषगरी काठमाडौँको कोटेश्वर, कलङ्की, गंगबु, महाराजगन्ज र भित्री सडकहरूमा मानिसहरूको भीड बढ्दै गएको छ।
बडादसैँ अर्थात् दुर्गा पक्षको मुख्य दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ। घरमा टीका लगाएपछि सर्वसाधारण आफन्तको घरमा टीका लगाउन जान थालेसँगै काठमाडौँमा चहलपहल बढेको हो।
प्रतिक्रिया