दसैँमा सतर्कता : असोज १७–२० सम्म लामो यात्रा नगर्न आग्रह

शुक्रबार, १७ असोज २०८२

काठमाडौँ : दसैंको भिडभाड सुरु भइसकेको बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक बाहेक लामो यात्रा नगर्न आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले लगातार चार दिनसम्म ती प्रदेशका धेरै जिल्लामा भारी वर्षा हुने चेतावनी जारी गरेपछि प्राधिकरणले उच्च सतर्कताको सन्देश दिएको हो । यस अवधिमा बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतराको तहसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, इलाम, ताप्लेजुङ, सङ्खुवासभा, बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लामा आकस्मिक बहाव र डुबानको सम्भावना उच्च रहेको विज्ञप्तिमा उल्लेख छ ।

दसैँमा ठूलो सङ्ख्यामा नागरिक घर फर्किने भएकाले जोखिम थपिने भन्दै प्राधिकरणले घरभन्दा टाढा नजान, विशेषगरी रातिको समयमा यात्रा नगर्न, डुबान सम्भावित बस्तीका बासिन्दाले सुरक्षित स्थान पहिल्यै पहिचान गर्न र आवश्यक परे तत्काल सार्न अनुरोध गरेको छ ।

जोखिमयुक्त राजमार्ग र सडकमा अवरोध आए तत्कालै डोजर, एक्स्काभेटर, लोडरजस्ता उपकरण परिचालन गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । साथै, सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई सतर्क रहन भनिएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, अत्यावश्यक कामबाहेक घरबाट टाढा नजानु, नदी किनार तथा पहिरो सम्भावित क्षेत्रमा सचेत रहनु र स्थानीय प्रशासनले ल्याउने निर्देशन पालना गर्नु नै जीवन तथा सम्पत्ति सुरक्षित राख्ने उत्तम उपाय हो ।

दसैंको भिडभाड, यात्राको चाप र मौसमजन्य जोखिम एकै पटक बढ्ने भएकाले नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार