काठमाडौँ : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ र २४ गते देशभर भएका अराजक गतिविधिमाथि गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल अनुसन्धान र कानुनी कारबाहीको माग गरेका छन्।
बिहीबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले ती दिन भएका लुटपाट, आगजनी र निजी सम्पत्तिमाथिका आक्रमण लोकतान्त्रिक आचरण विपरीत भएको भन्दै कसैले पनि यस्तो कार्यलाई समर्थन गर्न नसक्ने स्पष्ट पारे।
उनले भने, “भदौ २३ र २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो, नेताहरूमाथि र राष्ट्रिय संरचनामाथि आक्रमण भयो—यी सबै विषयमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नेमा सबै पदाधिकारीको एकमत छ।”
महतले देशमा अहिले गम्भीर राष्ट्रिय चुनौती उत्पन्न भएको उल्लेख गर्दै यस कठिन घडीमा काँग्रेसले जिम्मेवार भूमिकासहित देशलाई कमजोर हुन नदिने प्रतिबद्धता जनाए।
“हाम्रो अगाडि राष्ट्रिय चुनौती खडा भएको छ। यो अवस्थामा लोकतान्त्रिक मूल्य र मान्यताप्रति अडिग रही देशलाई सकारात्मक दिशामा लैजान हामी दृढ छौँ,” उनले भने।
भदौ २४ गतेका घटनापछि गृह मन्त्रालयले कारबाही नगर्ने सङ्केत दिएको समाचारप्रति पनि काँग्रेसको गम्भीर आपत्ति रहेको महतले बताए। उनका अनुसार, “राज्यको जिम्मेवारी कानून र शान्ति स्थापना हो। त्यसलाई बेवास्ता गर्न सकिँदैन।”
काँग्रेसले निकट भविष्यमा घटनाबारे विस्तृत तथ्य सङ्कलन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।
प्रतिक्रिया