बिर्तामोड : वीरता जुनियर जेसीजको आयोजनामा सप्ताहव्यापी तालिम कार्यक्रम सुरु भएको छ।
‘वीरता जुनियर जेसीज ट्रेनिङ सप्ताह’ नाम दिइएको उक्त तालिमको उद्घाटन वीरता जेसीजका पूर्वअध्यक्ष गणेश शाक्यले गरेका हुन्।
आठ दिनसम्म सञ्चालन हुने कार्यक्रममा १२ वटा विभिन्न तालिमहरू समावेश गरिएको जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाईंले जानकारी दिए। १३ देखि २३ वर्ष उमेर समूहका ४० जनाको सहभागितामा तालिम सुरु भएको छ।
पहिलो दिन प्रमुख प्रशिक्षक शिवकुमार अग्रवाल, सञ्चारकर्मी लीला अनमोल र लिटल फ्लावर इङ्लिस स्कुलकी शिक्षिका प्रभा पराजुलीले सहजीकरण गरेका थिए।
वीरता जेसीजका पूर्वअध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्षसमेत रहेका अग्रवालले जेसीजको इतिहास र उद्देश्यबारे जानकारी गराएका थिए। सञ्चारकर्मी अनमोलले ‘मिनेट लेखन’ सम्बन्धी प्रशिक्षण दिइन् भने पराजुलीले व्यक्तिगत विवरण लेखनबारे प्रशिक्षण प्रदान गरिन्।
जुनियर जेसीजका अध्यक्ष गोसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन युवा सशक्तीकरण संयोजक निश्चल बस्नेतले गरेका थिए। कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्षद्वय घनश्याम चौधरी र विशाल थापालगायतले शुभकामना मन्तव्य दिएका थिए।
अध्यक्ष गोसाईंका अनुसार, वीरता जुनियर जेसीजले सिग्नेचर प्रोजेक्टका रूपमा ‘जुनियर जेसीज ट्रेनिङ सप्ताह’ सुरु गरेको हो। कार्यक्रमको सञ्चालन वीरता जुनियर जेसीजकी थिम डाइरेक्टर श्रव्या पराजुलीले गरेकी थिइन्।
प्रशिक्षार्थीहरूका लागि नेतृत्व तथा व्यक्तित्व विकास, समय व्यवस्थापन, उद्घोषण, पब्लिक स्पिकिङ, सेयर बजार, बैठक व्यवस्थापन लगायतका विषयमा तालिम प्रदान गरिने जनाइएको छ।
प्रतिक्रिया