इटहरी : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कोशी प्रदेशका ५७ वटा प्रहरी कार्यालयको भौतिक संरचनामा क्षति पुगेको छ। जसमा २४ वटा संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यसमध्ये एक हो, इलाका प्रहरी कार्यालय इटहरी।
आन्दोलनकारीको आगजनीले ध्वस्त बनेको यो कार्यालय अहिले प्रहरी चौकी तरहरामा अस्थायी रूपमा कार्यरत छ।
आगलागीपछि पूर्ण रूपमा बस्न अयोग्य बनेको कार्यालयलाई अहिले इटहरी–९ स्थित रगंशालाको जीवनयोग प्रयोगशाला र ज्येष्ठ नागरिकको दुई तले भवनलाई इलाका प्रहरी कार्यालयको रूपमा प्रयोगमा ल्याउने कार्य धमाधम भइरहेको छ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालका अनुसार, इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकले रगंशालामा अस्थायी रूपमा ठाउँ उपलब्ध गराएपछि प्रहरी कार्यालय बनाउने काम तीव्र गतिमा भइरहेको छ।
इटहरी उपमहानगरले अस्थायी रूपमा प्रहरीलाई कार्यालय प्रयोजनको लागि प्रदेश खेलकुद विकास बोर्डसँग सहजीकरण गरेपछि अहिले ग्लोबल एभरेष्ट कन्स्ट्रक्सने तीव्र गतिमा काम गरिरहेको छ। कम्पनीका एक प्रतिनिधिले भने, “हामी तीन दिनभित्रै काम सक्ने गरी योजना अनुसार काम गरिरहेका छौँ।”
आन्दोलनका कारण क्षतिग्रस्त भएको इटहरी उपमहानगरले वडा नं। ९ का अध्यक्ष जितेन थापाको संयोजकत्वमा प्रहरी प्रशासन पुनः स्थापना समिति बनाएर काम गरिरहेको छ। समितिले करिब १० लाख रुपैयाँ अनुमानित खर्चमा इलाका प्रहरी कार्यालयको भवन निर्माण गर्ने योजना बनाएको छ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले भने कि इलाका प्रहरीले यसै हप्ता भवनको काम सम्पन्न गर्नेछ। उनले इलाका प्रहरीलाई सवारीसाधन व्यवस्थापन गरी कार्य सञ्चालन गर्न सहयोग गरिने पनि जनाए।
मेयर पौडेलले नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई व्यवस्थित गरी नियमित रूपमा राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापन गर्न सहयोग गरिने, साथै नगर प्रहरी सेवालाई व्यवस्थापन गरी बजार अनुगमन र नगर सुरक्षामा निरन्तर खटाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया