सेमन्त उपाध्याय
मैले सुनेको छु प्रायः मानिसको मुखराबिन्दबाट माग्दा पाउने भए बालापन माग्थेँ । यो मेरो जीवनमा पनि मेल खाने कुरा हो । प्रायः सबैको बाल्यकाल स्मृतिमा रहन्छ ।
गाउँ, सहर, देश र परिस्थितिअनुसार सुखका हुन् या दुःखका किन नहुन् सबैका बाल्यकालका यादगार पलहरु सुन्दर लाग्छन् । आमाको फुकाइले निको हुने चोटहरु, बाका बोलीले निहुरिने शिरहरु । दाजु भाइ र दिदीबहिनीसँगको सामिप्य, छिमेकीसँगको उदारता, साथीसङगीसँगको सहृदयता, आफ्नाहरुसँगको प्रेम सम्झिँदै पनि आनन्द महसुस गर्न सकिन्छ ।
उमेर पाँच वर्षसम्म त कुनै खास घटनाबाहेक अरु कुरा स्मृतिमा छैनन् । त्यसपछि त आफू जन्मेको घर, घरका भित्ताहरु, ढोका र जस्केलाहरु, झ्याल, आँखी झ्यालका दुला, अँगेनो, चुलो र मझेरी, ओदान, खोपा, गाग्री र गग्रेटो, आगो जोर्न दाउरा र ढुङग्री चाहिन्थ्यो । ग्यास चुलोको नाम सुनेको पनि थिएन ।
कतिपटक आगो सल्काउन (जोर्न) नसकेर चुलोमा एक गाग्री पानी खन्याएर भागेको छु । सबैसबै निकाल्नै नमिल्ने मिल्काउनै नसक्ने गरी मन, मुटु र मष्तिष्कमा गाँठो परेर बसेका छन् ।
बिहानै भालेको पहिलो डाकमा आमाले गाईको गोबरले लिपेको र रातो माटोले पोतेको घरका कोठा चोटा र दलानहरुमा लडिबडी गर्दै हुर्किन मेरो सौभाग्यले पाएछ ।
भोजपुर जिल्लाको साबिक चरम्बी गाबिस वडा नम्बर १ हाल अरुण गाउँपालिका वडा नम्बर ४ र्याङ सुन्तलाबारी आफू जन्मिएको माटोबाट बसाइँ सर्नेको लर्को अझै रोकिएको छैन ।
गाउँ आजभोलि जङ्गलमा परिणत भएको सुन्दा मन हतास हुन्छ । गाउँका जरुवा धाराहरु सुक्दै जाने क्रम रोकिएको छैन । शिक्षित र समाजसेवी मनहरुको पखेटा छिटो पलाउँदो रैछ उडेर टाढा क्षितिज पारी विलय हुने समस्या हाम्रो गाउँको मात्र हुँदै हैन ।
जङगली जनवारका कारण लगाएको बाली उठाउन नपाउँदाको पीडा कहालीलाग्दो छ । त्यै पनि आफू जन्मिएको गाउँ ठाउँ प्रत्येक रात सपनामा त्यही गाउँघर, साथीहरु, मेलापात र घाँस दाउरा गर्दै गरेको देखिन्छ ।
गाउँको दैनिकी भालेको पहिलो डाकसँगै उठेर मेलापात, घाँस दाउरा गर्नु दिनचर्या अनन्त छँदैछ । फेरि यी सबै कुरा भएकोले नै गाउँ गाउँजस्तो भएको हो ।
बिहान ४ बजे उठेर ५ बजे घाँस काट्न डोको बोकेर बारीमा पुग्नु पर्ने बाध्यता । एक भारी घाँस ल्याएर फुत्त गोठमा फालेपछि हस्याँङफस्याँङ गर्दै खाना खायो अनि झोला बोकेर दुई घण्टाको हिँडाइपछि स्कुल पुग्नु पर्ने बाध्यता ।
स्कूल जाँदा बाटमा खोलानाला भीर पाखा र जङगल त्यही बाटोमा ज्वारी खोला । त्यहाँ गहिरो दह थियो । गर्मी महिनामा पौडी खेलेर मात्र स्कुल जान्थ्यौँ । स्कूल पुग्दा ढिला भैसकेको हुन्थ्यो ।
शिक्षकले १०० चोटि कक्षाकोठामा उठबस गराउनु हुन्थ्यो । हामी स्कुल जाँदा जङगलै जङगलको बाटो भएर जानु पर्ने भएकोले सिजन अनुसारका विभिन्न फलफूल काफल, फडिर, अम्बा, अमला, पानी अमला, विभिन्न किसिमका कन्दमूल र फलहरु बाटोका वरपर प्रशस्त पाइने भएकाले स्कूल जाँदा र आउँदा एक चरण जङगल चहार्ने बानीले न घर समयमा पुगिन्थ्यो न स्कुल ।
दिनभरी खेतबारीमा काम गरेर लखतरान हुनुभएका बा आमा बेलुका राँको बालेर छोरो खोज्न आउनुहुन्थ्यो र राम धुलाइ खाइन्थ्यो । जङगलको बाटोमा सहपाठी मित्रहरुले मकै भटमास, वा अन्य खाजा लुकाएर राखेको हुन्थ्यो । हामी ३–४ जना केटाहरु खाजा लुकाएको ठाउँ लुकेर हेरेर बस्थ्यौ र खाजा चोरेर खान्थ्यौँ ।
विचरा साथीहरु छुट्टी भएर खाजा लुकाएको ठाउँ पुगेर हेर्दा हस्रक्क हुन्थे । जङगली जनवारले खायो होला भन्ठान्थे । पछि स्कुल पढाइ सकिसकेपछि पोल खुलिहाल्थ्यो ।
आज पनि ती साथीहरु हामीलाई भेट्नासाथ मकै चोर भनेर भन्छन् । १० वर्ष जतिको उमेर हुनुपर्छ मेरो एकजना मिल्ने साथी र म खेल्ने क्रममा घरबाट अलि तल्लो गाउँमा गयौँ ।
शनिबारको दिन गाउँ नै पुरै शून्य । मेलापातमा सबै गाउँका आमा बुबा, दाजु भाइ जानु भएको थियो । पानीको धारो नजिकै खेल्ने क्रममा जर्किनबाट १०० जर्किन जति पानी जस्केला ढोकाबाट घरभित्र खन्याएर भाग्यौँ ।
साँझमा खेत वारीबाट मेलापात सकेर घर फर्किदा घरभरी पानी देखेर दुखेका ती मन कस्तो भयो होला आज म महसुस गर्न सक्छु । मङसिर लागेपछि बन कुखुरा र कालिजको अण्डा खोज्न सालघारी जङगलका ओडार र भुईँका दुलाहरु खुब खोजिन्थ्यो ।
एक दिन जङजलमा बाख्रा बस्तु चराउन गएको बेला जामुनाको रुखमा गँुड बोक्दै गरेको ढुकुर देखेर देखेर लुकेर हेरियो (ढुकुर ले गँुड लगाउँदै गर्दा कुनै मान्छेलाई देख्यो भने त्यस ठाउँमा गुँड लगाउँदैन भन्ने गाउँलेको विशवास छ) ।
ढुकुरको बच्चाको मासु र परेवाको बच्चाको मासु सारै चिज गरेर खाने गाउँले चलन जो छ । हप्ता दिनपछि गको अण्डा पारेर ओथारो बसेको रैछ । त्यसपछि २० दिनपछि गको त भख्खर बच्चा काढेको भेटियो ।
ढुकुरले बच्चा सार्छ भन्ने कथन थियो । त्यसो नगरोस् भन्नाको खातिर आफूले लगाएको जनै चुँडाएर बचेराको खुट्टा र रुखको हाँगामा बाँधेर हिँडियो । त्यसको १० दिनपछि गएर बच्चा लिएर आयौँ ।
हाम्रो घरगाउँमा खुब बाँदर लाग्ने । मकै पोलिखाने भएको बेला पानी झमझम परेको बेला बाँदरको हुल आएर मकै बारीमा पस्यो । बाँदर खेदाउँदै अलिक मास्तिर पुगे वरिपरि जङगल थियो बीचमा एउटा चौर थियो ।
बाँदरले वरिपरीबाट घेरेर मलाई राम धुलाइ चुटेको सम्झना अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा नि तर्सन्छ भने जस्तो आज पनि बाँदर देख्दा मा झसङग हुन्छ ।
घरदेखि टाढा स्कूल भएकोले मुसलधारे पाने परेको बेला खहरे खोला तर्न नसकेर कयौँ पटक कटेरोमा बास बसिएको रातहरु सम्झिदा नि कहाली लाग्छ । न फोन थियो न इन्टरनेट । बा आमाको मन त हो छोरा छोरी खोज्न जाउँ भने खोलाले आफँैलाई बगाउला भन्ने डर, नजाउँ त खोला तर्ने हुँदा छोरो बगायो कि ?
यो निस्लोट रातमा कहाँ बसेको होला । चिसो पानीले कठ्याङग्रियो कि, भोकले कस्तो भयो होला । मनमा अनेक तर्कना खेलाउँदै रातभरी पानी रहने प्रतीक्षामा आँखा झिमिक्क नपारी कसरी मन थामेर बस्नु हुन्थ्यो होला ।
हाम्रो पुस्ता जसले पञ्चायतकालमा जन्मेर राजाको शासनकाल हुँदै माओवादीले चलाएको जनयुद्ध भोग्न देख्न र सहभागी हुन, संघीय लोकतान्त्रिक गणतन्त्रसम्म भोग्न पायो ।
हाम्रो पुस्ता अन्तिम पुस्ता हो जसले तीनवटा व्यवस्था भोग्ने अवसर पायो । त्यस समय स्कूल जानु र घर आउनु कम चुनौतीको विषय थिएन । त्यसबेला कक्षा कोठामा बस्दा माओवादीका साथीहरु आएर संगठन बिस्तार गर्ने र जनयुद्धमा होमिन आग्रह गर्ने ।
कतिपय साथीहरु त्यस कार्यमा सहभागी समेत भए । सँगैका साथी सहिद भए मन अमिलो हुन्छ । माओवादी आएको थाहा पाएपछि नेपाली सेना, प्रहरी आउँथे । सोधपुछ र केरकार हुन्थ्यो राज्य पक्ष र बिद्रोही दोहोरो मारमा हामी कलिला विद्यार्थी ।
कति दिन स्कूलमा सेना आउँदैछ भनेको हल्ला सुनेर जङगलमा गएर राति अबेरसम्म लुकिन्थ्यो त कति दिन माओवादी आउने थाहा पाएर स्कूलबाट भागियो ।
घरमा सधै सन्त्रास हुन्थ्यो छोरो बेलुका घर आउने हो कि नआउने हो । समय पेचिलो थियो । कक्षा १० को परीक्षा सकिएपछि ८ र ९ कक्षाका भाइ बहिनी मिलेर हामीलाई बिदाइ गर्ने कार्यक्रमको दिन बिहानै मौरी काड्ने रहरले घरमा भएको मौरीको घार बिना कला कौशल मह निकाल्न रहर भयो ।
जसोतसो मह काडियो । ८–१० मौरीले टोकेर हैरान । बिदाइमा जाँदा मुख ओठ सबै सुन्निएर भुक्क भयो । मुख छोपेर बिदाइमा सहभागी भएँ । आज भोलि सम्झनाका लागि खिचिएको फोटो हेर्छु, ओठ सुन्निएर पुक्क भएको देख्दा हाँस उठ्छ ।
बाआमाका संघर्ष शब्दमा उतारी सक्नु छैन । गाउँमा उब्जनी साहु महाजनको कब्जामा हुन्थ्यो । पाखा बारीमा फल्ने कोदो र मकै हाम्रा भान्सामा पाक्ने परिकार थिए ।
रहरले शहरमा छिरेकाहरुलाई मात्र मिठो लाग्दो रहेछ कोदोको ढिँडो र मकैको च्याँख्ला । बाध्यतामा पटक्कै मिठो नहुँदो रहेछ । आमाको मजेत्रो तान्दै आमा आज त धानको चामलको भात पकाउनु न है भनिरहेको सन्तानलाई आमाले ढाडस दिँदै भन्नु हुन्थ्यो ‘त्यो भन्दा मिठो बनाएर पकाउँछु नानी नयाँ मकैको भात खीर खाएजस्तै लपक्क हुन्छ ।’
गाउँमा सामानको विनिमय हुन्थ्यो । आजभोलि जस्तो सबैका हातमा पैसा हुँदैन थियो । सामान दिएर सामान साटिन्थ्यो । वर्ष दिनभरि काम गर्दा पनि उत्पादित बस्तुले ६ महिना टार्न हम्मे पर्थ्यो ।
धानको चामल पूजा, आफन्त आउँदा र चाडपर्वका लागि सञ्चित गर्नुपर्ने बाध्यता । नुन, चिनी, साबुन र मसला लिन हिँडेर २ दिन । २०६० साल पहिले हिलेसम्म जानु पर्थ्यो ।
पछि पाख्रिबास हुँदै लेगुवाघाट बजार बिस्तार भयो । ६ महिनादेखि १ वर्षसम्म पुग्ने गरी जोहो गर्नुपर्ने बाध्यकारी अवस्था । फिर्दा जरायोटारको उकालोभरि तिर्खा मेटाउने पानी कतै नपाइने । कसरी जीवन चलाएका थिए होलान् ।
तेल पिस्न, चिउरा कुट्न, बिहे कार्जेका लागि धानको चामल कुटाउन घरबाट टाढा जानु पर्थ्यो । तोरीको तेल र चिउरा कुट्ने मिल याग्वा खोलामा थियो । त्यो पानीबाट चल्ने घट्ट भएकाले खोलाको छेउमा थियो ।
घरबाट एक बिहानको बाटो हिँडेपछि पुगिने त्यस ठाउँमा जाँदा खानाको लागि चामल र सामल बोकेर जानुपर्ने । बास उतै बस्नुपर्ने हुन्थ्यो । धेरै गाउँबाट त्यही मिलमा तेल र चिउरा कुटाउन आउने भएकाले पालो कुर्नु पर्थ्यो ।
खोला दुई जङगलको बीचबाट बग्ने भएको हुनाले सारै सफा । त्यही खोलाको डिलमा खाना बनाएर खादाको मजा थाकेको शरीर खोलाको स्वाँ.. आवाजसँग कति मिठो निन्द्रा पर्थ्यो । वर्णन गरिसाध्य छैन ।
म सायद १२ वर्षको हुँदो हुँ । ममीले साथी लिएर तेल पिसाउन याग्वा खोला लिएर जानु भयो । पहिलोचोटी तेल पेल्न गएको म । मनमा अनेक प्रश्नहरु बाटाभरि तेर्सिए ।
एउटा लौरो त साथी मानिन्थ्यो हाम्रो गाउँमा, म त मान्छे । तैपनि छोरो मान्छे ममीलाई कति भरोसा रहेछ । कति विश्वास रहेछ मसँग ।
जङगलै जङगलको बाटो बाघ, भालु जस्ता हिंस्रक जनवारको बसोबास भएको जङगल । म डराउँछु भनेर बाँदरले पात हल्लाएको भन्दै आफू भित्रको डरलाई हिम्मतमा परिणत गरेर हिँड्नुहँुदो रहेछ । पछि म बुझ्ने भएपछि सुनाउनु हुन्थ्यो ।
हाम्रो पालो आएर तेल पिसाउँदा झमक्क साँझ परेको थियो । २ दिनको बसाइ सायद मलाई घरको न्यास्रो लागेर होला ममीलाई धेरै जिद्दी गरेँ घर जाउँ कि जाउँ भनेर । ममी मानिरहनु भएको थिएन ।
मेरो जिद्दी नकार्न नसकेर तेलको ग्यालिन र पिना तयार पोको पार्नु भयो । मैले खाना पकाउन लगेको भाँडा र कराइ, थाल, बटुका बोकेँ ।
एउटा सानो पिलपिले लाइट थियो ब्याट्री सकिन लागेको । त्यसैको मधुरो प्रकाशमा आमाछोरा बेलुकाको ७ बजेतिर घर लागियो ।
म अघिअघि, ममी पछिपछि । जङगलको बाटो सास बन्द गरेर छिटो छिटो हिँडियो । बीचमा लाइट बन्द भयो राँको सल्काइयो । राँको सल्काएपछि अलि हिम्मत बढ्यो । आगोसँग जनावर डराउँछन् ।
एक घण्टा जति हिँडेपछि राँको पनि सकियो र निभ्यो । जङगलको निस्लोट अँध्यारो छामछाम छुमछुम गरेर ११ बजे राति गाउँ पुगियो ।
आफन्तको घरमा ढोका ढकढक पारेर मान्छे उठाइयो । आफन्तहरु छक्क पर्नुभयो । धन्न बाचेर आयौ । नयाँ जुनस् पार गरेछौ भनेर खुसी हुँदै राति १२ बजे खाना पकाएर दही र घिउसँग भात खुवाउनुभयो ।
ममीले जङगलको सबै कहानी काकीलाई सुनाउँदा मेरो मुटु घाँटीमा आएर अड्किएजस्तो भयो । डरै डरमा भुसुक्कै निदाएँछु । ममीले सबै कहानी सुनाउँदै हुनुहुन्थ्यो ।
गाउँका कथा अनेक हुने । सापकोटा बा भन्नुहुन्थ्यो बाजेको पालामा त्यो ठूलो ओढारमा वनझाँक्री र त्यसकी बुढी चुँडेल्नी बस्थे रे । बनझाँक्रीले ससाना ८–१० वर्षका बच्चा लगेर मन्त्र विद्या सिकाउँथ्यो रे ।
चुँडेल्नीलाई बनझाँक्रीले बाँधेर राखेको हुन्छ रे नत्र त मान्छे खान्छे अरे । बन झाँक्रीले गाईको दूध लगेर खीर पकाएर खुवाउँछ । यदि बनझाँक्रीको बुढीसँग जम्काभेट भयो भने ओरालोतिर भाग्नु झोलिएका दूध हुन्छ ओरालो कुदन् सक्दिन उकालोतिर भाग्यो भने त दूघ काँधमा पछाडि हालेर कुदेर एकै छिनमा भेटेर खान्छे भनेर कथा सुनाउनु हुन्थ्यो ।
पानीको धारा टाढा हुने । बिहानै नुवाइधुवाइ लुगा धोइ एक गाग्री पानी ल्याउन जाँदा भुतले गाग्रो फालिदिएको कथा ममी सुनाउनु हुन्थ्यो। दुःखले सुख सिकायो र सुख महसुस गर्न सकिन्छ ।
दुःखै महसुस नगरेकाले वास्तविक सुख र खुसी महसुस गर्न सकिँदैन होला सायद । कसैको बिवाह, ब्रतबन्ध र चाडपर्व हुँदा सालघारीमा पूर्वेली हाक्पारे गीत गाउँदै सालको पाट टिप्न जाँदाको मजा । दसैँमा शहरबाट आफन्त आउने दिन घरबाट १ घण्टा परसम्म खुसीले लिन गएर बाटो कुराइको आनन्द ।
दिदी भिनाजु आउने अरे भनेको सुन्दै मन फुरुङग हुन्थ्यो । दसैँमा लिङगे पिङको डोरी बाट्न जङगल मा बाबियो खोज्न भीरभीर जान्थ्यौँ । सबैको घरबाट १–१ मुठा बाबियो उठाउन हिँडिन्थ्यो ।
रातभरि लगाएर लठारो (डोरी) बाटिन्थ्यो, गाउँमा दसैँमा काट्ने खसी कस्को ठूलो छ भनी अष्टमी र नवमीका दिन पुरै गाउँ चहारिन्थ्यो । दही र केरा सारै मनपर्ने भएको हुँदा चोरी चोरी खुब खाइयो ।
तिहारमा सिमल बारुलै मादल र झ्याम्टा नाच गान र दोहोरी २–४ रात छर्लङग पारिन्थ्यो ।
सुन्दैछ,ु आजभोलि लोप हुने अवस्थामा छ रे । गाउँमा केटाकेटी र बुढाबुढी बाहेक कोही छैनन् । घाटसम्म काँध थाप्ने युवा पुस्ता अवसरको खोजीमा कोही विदेशमा छन् त कोही सहरमा ।
हाम्रोतिर बर्खे धान लगाउने चलन पछि आयो त्यो फागुन अन्तिम चैततिर रोप्ने चलन थियो । आकाशबाट पानी नपर्ने हुनाले जरुवाको पानी कुलो बनाएर खेतसम्म पुर्याउनु पर्ने ।
पानीको समस्या भएकोले रातभरि पानीको लागि लाइट नबाली लुकेर बस्नु पर्ने । किनकि अरु कृषकहरु आफ्नो खेतमा पानी लगाउन लुकेर बसेका हुन्थे । लाइट बलेको देखे भने हामी त्यहाँबाट निस्किने बित्तिकै आफ्नोतिर कूलो फर्काइहाल्छन् ।
सबै त्यही दाउँमा बसेका हुन्थे । बिहानसम्म कसैको खेतमा पानी पुगेको हँुदैन थियो । गाउँका किसानको समस्या र बाध्यता रातभरी लुकेर पानी लगाउँदा पनि जस्ताको तस्तै ।
त्यही पानीको समस्याले त्यस समयमा सुख्खा ठाउँमा रोप्न मिल्ने धान खस्याको बिउ बाले ल्याउनु भयो । कोदो रोपे जसरी रोपियो । कालो रातो खालको ठूल्ठूला चामल हुँदोरहेछ । खाना मिठो भएन । फेरि त्यो धान रोपिएन ।
एकपटक मधेस झर्न खुब रहर जाग्यो । मोटर पनि चढ्न पाइने । बाले लिएर झर्नुभयो । हाम्रो गाउँबाट पाख्रिबाससम्मको पैदल यात्रा हिँडेपछि मात्र मोटर चढ्न पाइन्थ्यो ।
बिहानै झोला भिरेर बा र म मधेश हिँडियो । लेगुवाको झोलुङगे पुल तरेपछि रामरिठ्ठा भन्ने ठाउँमा बिहानको ११ बजेतिर खाना खायौँ । बेलुका बास बस्न पाख्रिवास पुगियो ।
मेरो मनमा अनेक तर्कनाहरु हुड्मुलिन थाले । निद्रा त्यति मजाले परेन । बिहान ३ बजेदेखि बसका खलासीहरु कराउन थाले– धरान, विराटनगर... प्वाँ प्वाँ र पुपु हरन बजाउँदै ।
४ बजेको पहिलो बसमा यात्रा सुरु गरियो । बेलुका झुम्का गएर बसियो । कलको पानी वाक्क आउने गन्हाएर भदौतिरको समय थियो । गर्मी उस्तै उखरमाउलो । न भात रुच्छ, न पानी । एक हप्ता मधेश बसेर घर पुग्दा १० किलो घट्नेगरी दुब्लाएको थिएँ ।
गाउँको जनजीवन अझै पनि कष्टपूर्ण छ । त्यहाँ बाटो, डोजर र बस त पुगे होलान् । सँगै विकृति र विसंगति पनि पुगे । शिक्षा र स्वास्थ्य क्षेत्रमा कुनै सुधार हुन सकेको छैन ।
आज पनि सुत्केरी हुन ६ महिना अगाडि शहरमा कोठाभाडा लिएर बस्नु पर्छ । बालबच्चाको उज्वल भविष्यका लागि शहरका निजी स्कुलहरुमा पढाउन कोठा भाडामा लिएर बस्नु पर्छ ।
पहिले निजी स्कूलहरु थिएनन् । गरिबदेखि धनीका सबै बालवच्चा सरकारी स्कूलमा पढाउनु पर्थ्यो । अहिले झन् गाउँमा वर्गीय खाडल फराकिलो भएको महसुस हुन्छ ।
गाउँ गाउँ जस्तो हुनलाई त्यहाँ बोलिने भाषा, चाडपर्व मनाउने तौरतरिका, ठाउँ विशेष संस्कृति, निःस्वार्थ सहयोग, सरसापट, मेलापात, स्थानीय उत्पादनका पहिरन र परिकार, जन्म विवाह र मृत्युका संस्कारहरु यी र यस्तै कुरा त रैछन् नि ।
तर गाउँहरु शहरजस्ता भएछन् । तराइका बोराका चामल, भारतीय सागसब्जी, ममः थुप्पा र कोकाकोला, चाइनिज भेष्ट कट्टु । अब गाउँ ‘अपग्रेड’ त भएछ तर के के नमिले जस्तो । गाउँ न गाउँ रहेछ, न त शहरै भएछ ।
–इटहरी ५, सुनसरी
प्रतिक्रिया