काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनमा ‘जेनजी आन्दोलन’को प्रभाव देखिँदै जाँदा यसपटक विगतको निर्वाचनभन्दा फरक चित्र देखिन थालेको छ। कलिलो उमेरका उम्मेदवारहरू मैदानमा उत्रँदा अनुभवी र ‘हेभीवेट’ राजनीतिक नेताहरू भने ‘चुनावी कमान्डर’को भूमिकामा देखिन थालेका छन्।
नेतृत्व हस्तान्तरणको मुद्दासहित विशेष महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसमा धेरै वरिष्ठ नेताहरू कमान्डर बन्नुपर्ने अवस्थामा पुगेका छन्। यस्तै, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीमा पनि उल्लेख्य सङ्ख्यामा युवा उम्मेदवारहरूले टिकट पाएका छन् भने अनुभवी नेताहरू उनीहरूलाई जिताउन निर्वाचन क्षेत्रमा खटिनुपर्ने अवस्था सिर्जना भएको छ।
नेकपा एमालेको तर्फबाट चितवन–१ मा बागमती प्रदेशसभाका पूर्वसांसद दावादोर्जे लामाले उम्मेदवारी दर्ता गर्दा पार्टी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चुनावी कमान्डरका रूपमा देखिएका छन्। यस्तै, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा काभ्रे–२ का उम्मेदवार अशोक ब्याञ्जुको चुनावी कमान्डर बनेका छन्। एमालेका उपमहासचिव योगेश भट्टराईलगायत अन्य पूर्वपदाधिकारी तथा नेताहरू पनि युवा उम्मेदवारलाई जिताउने जिम्मेवारीसहित निर्वाचन क्षेत्रमा खटिँदै छन्।
नेपाली कांग्रेसमा रामहरि खतिवडा ओखलढुङ्गाबाट उम्मेदवार बनेका कुमार लुइँटेलका चुनावी कमान्डर बनेका छन्। डडेलधुरामा नैनसिंह महरलाई जिताउन निवर्तमान सभापति शेरबहादुर देउवाकै प्रतिष्ठा जोडिएको छ। सभापति गगनकुमार थापाले महरलाई आधिकारिक उम्मेदवार बनाएपछि उनको हार–जित देउवाको राजनीतिक प्रतिष्ठासँग गाँसिएको छ।
विशेष महाधिवेशनपछि कांग्रेसमा टिकट वितरणको समीकरण फेरिँदा धेरै युवा नेताहरू उम्मेदवार बनेका छन् भने पूर्णबहादुर खड्का, शशाङ्क कोइराला, रमेश लेखक, प्रकाशमान सिंह, डा. आरजु देउवा राणा, धनराज गुरुङ, चित्रलेखा यादव, जीवन परियारलगायत वरिष्ठ नेताहरू आफ्ना उत्तराधिकारी उम्मेदवारलाई जिताउन निर्वाचन क्षेत्रमा जानुपर्ने बाध्यतामा पुगेका छन्। कांग्रेस नेताहरूका अनुसार पार्टी राजनीतिमा टिकिरहन पनि उनीहरूका लागि निर्वाचन क्षेत्र जानु अपरिहार्य बनेको छ।
नेकपा एमालेभित्र पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट उम्मेदवार बनेका रणबहादुर (आरबी) राईका चुनावी कमान्डर बन्ने सम्भावना प्रबल छ। यस्तै, बामदेव गौतम, रघुजी पन्त, लालबाबु पण्डित, भीम आचार्यलगायत नेताहरू पनि युवा उम्मेदवारका लागि कमान्डरको भूमिकामा देखिँदै छन्।
नेपाली कम्युनिस्ट पार्टीमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकमा युवा उम्मेदवारहरू माधव सापकोटा र युवराज दुलाललाई जिताउन केन्द्रीय कमान्ड सम्हाल्दै छन्। ललितपुर–३ मा पम्फा भुसाल यसपटक उम्मेदवार नभई कमान्डरको भूमिकामा सीमित भएकी छन्।
एमालेले वरिष्ठ नेताहरूलाई कमान्डर बनाउँदै नयाँ पुस्तालाई अवसर दिने नीति लिएको बताइरहँदा यसलाई जेनजी आन्दोलनले सिर्जना गरेको सकारात्मक अवसरका रूपमा हेर्नुपर्ने एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेल बताउँछन्। ढुङ्गेल स्वयं रामेछापबाट पहिलोपटक प्रतिनिधिसभा उम्मेदवार बनेका छन्।
३५ वर्षमुनिका ५ सयभन्दा बढी उम्मेदवार
आगामी आमनिर्वाचनका लागि प्रत्यक्षतर्फ मङ्गलवार दर्ता भएको उम्मेदवारीमा ३५ वर्षमुनिका ५ सयभन्दा बढी युवाले उम्मेदवारी दिएका छन्। जेनजी आन्दोलनका अभियन्ता रक्षा बमका अनुसार यो आन्दोलनको ठोस प्रभाव हो।
‘यो मात्रै अन्तिम सफलता होइन, तर युवाहरू प्रचारकबाट उम्मेदवार बन्ने अवस्थामा पुग्नु महत्त्वपूर्ण उपलब्धि हो,’ उनले भनिन्। अभियन्ता मिराज ढुङ्गानाका अनुसार जेनजी आन्दोलनले युवामा राजनीतिक चासो जगाउन सफल भएको छ।
युवा संस्था सञ्जाल (आयोन) की अध्यक्ष सुजता बराल युवाहरूको उम्मेदवारीलाई लोकतान्त्रिक रूपान्तरणका लागि भएको सकारात्मक हस्तक्षेपका रूपमा हेर्नुपर्ने बताउँछिन्। उनका अनुसार पुरानै दलबाट समेत युवाहरूले टिकट पाउनु जेनजी आन्दोलनकै ठोस उपलब्धि हो।
प्रतिक्रिया