लोकतन्त्र म्यागजिन लोकापर्णसँगै १५ युवा सम्मानित

आइतबार, ११ माघ २०८२

झापा :  ‘गरिखाने संस्कृतिको पुनर्जागरण’ भन्ने नारासहित लोकतन्त्र म्यागजिन लोकापर्णसँगै झापाका १५ जेनजी युवा सम्मानित भएका छन् । 

नौ वर्षअघि प्रकाशन आरम्भ गरेको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी’ नामक विशेष म्यागजिन सार्वजनिक गर्दै श्रम, सिर्जना र आत्मनिर्भरताको बाटोमा हिँडेका १५ जना जेनजी युवालाई सम्मान गरेको हो ।

काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.द्वारा सञ्चालित पत्रिकाले आइतबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा जेनजी पुस्तालाई केन्द्रमा राखेर तयार पारिएको म्यागजिनको लोकार्पणसँगै सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको संयोजकत्वमा गठित छनौट समितिले १५४ जना पौरखी युवामध्येबाट १५ जनालाई छनौट गरेको थियो । छनौटमा परेकाहरुलाई सम्मान गरियो । 

प्रधान सम्पादक मोहन काजी न्यौपानेका अनुसार, ‘पौरखी जेनजी’ केवल एउटा म्यागजिन मात्र होइन, जेनजी पुस्ताले थालेको श्रम र उद्यमको आन्दोलनको दस्तावेज हो । ‘आफ्नै माटोमा पसिना बगाएर समृद्धिको सपना बुनिरहेका ‘गरिखाने हिरो’लाई चिनाउने उद्देश्यले यो अभियान सुरु गरेका हौं,” उनले भने, “जेनजी पुस्तालाई नकरात्मक दृष्टिले होइन, परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्नु हाम्रो ध्येय हो।”

कार्यक्रममा वक्ताहरूले जेनजी आन्दोलनलाई परम्परागत रोजगारी खोज्ने पुस्ताबाट उद्यम, सिर्जना र प्रविधिमैत्री पुस्तातर्फको संक्रमणको प्रतीकका रूपमा व्याख्या गरे । विदेश जाने होडभन्दा आफ्नै गाउँ, आफ्नै सहरमा अवसर सिर्जना गर्ने सोच नै पौरखी जेनजीको मूल आत्मा भएको उनीहरूको भनाइ थियो ।

छनौट समितिका संयोजक गिरीले भने, “यी युवाहरू केवल व्यक्तिगत सफलताका कथा होइनन्, यी कथा सामाजिक रुपान्तरणका बीउ हुन्। जेनजी पुस्ता निराश होइन, नयाँ नेपाल निर्माणको ऊर्जा हो ।”

कार्यक्रममा सम्मानित हुनेमा स्वेता बुढाथोकी, कृपेश कार्की, कृपा चापागाई, डा. चेतनराज कार्की, गायिका रचना रिमाल, सविन बास्कोटा, गायक अशोक दर्जी, कृपा ढकाल, हरिकृष्ण भण्डारी, जयराम दाहाल, अनन्त तामाङ, तनुजा पाण्डे, अंकित सुवेदी तथा राहुल–तेज–उत्सवको समूह रहेका छन् ।

त्यसैगरी, मनिषा राजवंशीलाई प्रमुख अतिथि गिरी, प्रधान सम्पादक काजी, सम्पादक अम्बिका भण्डारी र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रूपमा सम्मान गरेका थिए ।

सम्मानितहरूको तर्फबाट स्वेता बुढाथोकी र सेवन कार्कीले बोलेका थिए। उनीहरूले जेनजी पुस्तालाई अवसरभन्दा पहिले आत्मविश्वास र निरन्तर मेहनत आवश्यक रहेको सन्देश दिए।
“हामी अवसर खोज्न होइन, अवसर सिर्जना गर्न जन्मिएका पुस्ता हौं,” कार्कीले भने।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले सञ्चार माध्यमले अब नकारात्मक प्रवृत्तिभन्दा सिर्जनशील युवा अभियानलाई प्राथमिकतामा राख्नुपर्ने बताए। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार