बेनुप भट्टराई
हर्क साम्पाङले पछिल्लो २४ घण्टामा ३५ भन्दा धेरै स्टेसस् पोष्ट गरेछन्। एकैदिनमा उनको यो फेसबुके ‘नेतागिरी’ सायद अहिलेसम्मकै बढी हो।
राष्ट्रिय झण्डासहित घोपा अस्पताल पुगेर उपकुलपति भेट्न गरेको संघर्ष देखेपछि मैले यिनलाई फेसबुकमा फलो गरेको थिएँ।
त्यो चुनावअघिको कुरा हो, जतिबेला यिनी दोस्रो दर्जाका र देब्रे विचार मुखरित गर्ने भुईँमान्छे लाग्थे। यी ४० वर्ष नै नपुगेका मेयरलाई धरानमा ‘गरेर देखाउने’ तीन सजिला कारण थिए-
-झण्डै ४८०० मत अन्तरको निर्वाचन परिणाम
-जितेपछि दलका नेता कार्यकर्ताको कम दबाब
-स्वतन्त्रबाटै जित्दा संसारभरबाट मिलेको सहानुभूति
तर, मेयर चुनिएको चार महिना नपुदै अहिले ऊनी ‘भूईँमा न भाँडामा’ देखिन्छन्।
सामाजिक संजालमा डुक्रिने क्रम नरोके आफैं पुङमाङ् हुन्छन्, कसैले केही गर्नै पर्दैन। त्यसरी को को पुङमाङ् भइसकेका छन्, यहाँ लेखिरहनै पर्दैन।
-आखिर शक्तिमा पुगेपछि किन गर्जिन्छ मान्छे?
-आफूलाई मात्रै किन सर्वोपरी ठान्छ?
-छेउछाउका सबैलाई किन होचो देख्छ?
यस्ता कुराको पछाडि नदेखिने कारण हुन्छ, जसलाई ‘डनिङ-क्रुगर इफेक्ट’ भनिन्छ।
साम्पाङ मात्रै कहाँ, सामुन्नेमै धेरै पाइन्छन्। यो इफेक्टको शिकार हामी धेरै छौं।
जस्तो-
‘म जति राम्रो त अरुले पक्कै हाँक्दैनन्!’
तपाईं बाइक या गाडी चलाउनुहुन्छ भने पक्कै यस्तो ‘घमण्ड’ गर्नुभएको होला।
मनमनै होस् वा हाकाहाकी, ८० प्रतिशत चालकले आफूलाई ‘अरुभन्दा राम्रो’ ठान्छन् रे।
गाउने बजाउने गर्नुभएको भए ‘त्योभन्दा त म नै गतिलो धून वा स्वर निकाल्छु’ भन्ने लाग्दो हो।
खेलकुदमा रुचि हुनेलाई ‘ठूला प्रतियोगितामा त अरुले के चान्स पाउँथे, मैले नै उछिन्छु’ हुँदो हो।
पत्रकारलाई ‘मै राम्रो लेख्छु’, हिरोइनलाई ‘मै राम्री देखिन्छु’, किसानलाई ‘मै बढी फलाउँछु’, गृहिणीलाई ‘मै मिठो पकाउँछु र जँड्याहालाई ‘मै धेरै पचाउँछु’ लाग्नु यसै मनोविज्ञानको प्रभाव हो।
यसको प्रभाव तब बढ्दै जान्छ जब कुनै व्यक्तिसँग विशेष सीप वा क्षमता हुँदैन तर उसले आफूलाई पूर्ण क्षमतावान सम्झेको हुन्छ।
कम योग्यता भएका व्यक्तिहरूले अन्जानमै आफ्नो क्षमतालाई बढी आकलन गर्ने सम्भावना हुन्छ, जबकि उच्च क्षमता भएकाहरुले भने त्यसो गर्दैनन्।
चुनावताका केपी ओलीमा ‘डनिङ-क्रुगर इफेक्ट’ डरलाग्दो देखिन्थ्यो। उनले त दिनका दिन भाषणमै अरुको उछितो काढ्थे। बिडम्बना चाहिँ के भने यसको प्रभाव बढी हुनेहरुले आफू कति पानी माथि छु र कहिलेसम्म शक्तिमा रहिरहन्छु भन्ने हेक्का राख्दैनन्।
राजनीतिकर्मी मात्र कहाँ, त्योभन्दा मै गतिलो भन्ने भ्रममा विद्यार्थी, शिक्षकदेखि बालबालिका, बुढापाका सबै हुन्छन्, भलै त्यो गलतै किन नहोस्।
सन् १९९९ मा कोर्नल युनिभर्सिटीका प्राध्यापकद्वय डेभिड डनिङ र जष्टिन क्रुगरले गरेको खोज अनुसन्धानपछि उनीहरुकै नामबाट ‘डनिङ-क्रुगर इफेक्ट’ नामको यो मनोविज्ञानको पाटो चर्चामा आएको हो।
हर्क साम्पाङ त्यही ‘डनिङ-क्रुगर इफेक्ट’को बोझले किचिएका हुन्।
त्यो इफेक्ट चुनावअघि पनि साम्पाङमा थियो तर सुसुप्त, शक्तिमा जब पुगे बढेर देखियो हुलुक्क!
काठमाडौं पुग्दा उनलाई बालेन बुचा लाग्छन्, धरानमा रहँदा समीपका सबै होचा देख्छन्।
आफू दिनहुँ ‘अग्लिएको’ र अरु ‘पुड्किएको’ लाग्नु शतप्रतिशत सत्य होइन।
स्टेटस् स्टन्ट रोक्नुस् हर्कजी, तपाईँ फेरि भूईँमा बज्रिएको देख्न मन छैन।
तपाईँको पतन चाहनेहरु त्यहीं धरानमै धेरै छन्, ती पनि ‘डनिङ-क्रुगर इफेक्ट’ बाट थोरबहुत गुज्रिएकै हुन्छन् र तपाईँलाई ‘नाथे हर्के को हो र...' भन्दै शिर उठाउन थाल्नेछन्।
‘नेपालटचडटकम’ मा हालै प्रकाशित यो लेख सान्दर्भिक हुने ठानेर हामीले यहाँ प्रस्तुत गरेका हौं । –सं.
प्रतिक्रिया